अनिता आचार्य – नेपाल राष्ट्र बैंकका गर्भनर डाक्टर चिरञ्जीवी नेपालले टोपी र मोजामा लुकाउने पैसा बैंकमा बचत गर्न आग्रह गरेका छन् । बैंकिङ खबर डटकमसँग कुराकानी गर्दै गर्भनर डा. नेपालले ग्रामीण क्षेत्रमा बचतका नाममा टोपी, मोजा तथा सुरुवालमा लुकाउने पैसा बैंकिङ च्यानलमा आउनुपर्ने बताएका हुन् । ग्रामीण स्तरका जनताको पुहँचमा अझैसम्म पनि वित्तिय साक्षरताका कार्यक्रम पुग्न नसकेको भन्दै गर्भनर डा. नेपालले भने, “अझैपनि गाउँघरमा बचत तथा सुरक्षाका नाममा सुरुवालको ईजारमा, टोपी वा मोजामा पैसा लुकाउने गरिन्छ । तसर्थ यस्ता पूँजीहरुलाई बैंकिङ च्यानलमा ल्याउनु आवश्यक छ ।” ग्रामीण स्तरमा शिक्षाको कमी, चेतनाको कमीका कारण भएका पूँजीको प्रयोगबारे पनि राम्रो ज्ञान नभएको नेपालको बुझाई छ । हालसम्म पनि ४० प्रतिशत मानिसहरुको पहुँच फर्मल बैंकिङ सेक्टर वा बैंकिङ च्यानलसँग छैन । यस्तो अवस्थामा हालसम्म पनि साहु महाजनबाट ऋण लिने परिपाटिको अन्त्य हुन नसक्नुको पछाडि शिक्षा तथा चेतनाको कमी नै भएको उनले प्रष्ट्र पारे । नेपालले भने, “खासगरी पैसाको मुल्य नबुझ्नु, महत्वलाई अंगिकार गर्न नसक्नु, पैसालाई कुन रुपमा सञ्चालन गर्ने भन्ने कुराको बारेमा जानकारी नहुनु जस्ता कारणले ग्रामीण स्तरमा बैकिङ सम्बन्धि बुझाई कमजोर छ, भन्ने सजिलै बुझ्न सकिन्छ । अबका दिनमा विद्यालय स्तरमा वित्तिय साक्षरतासम्बन्धि ज्ञान अनिवार्य रुपमा लागु गरिनु आवश्यक छ । स्कुल लेभलदेखि नै वित्तिय शिक्षा प्रदान गर्न सकिएको खण्डमा व्यक्तिलाई पैसा कमाउन र यसको मुभमेन्ट बारे बुझ्न गा¥हो हुदैन ।”
