July 9th, 2024

अग्राधिकार सेयर जारी गर्न तीन बैंकको प्रस्ताव

बैंकिङ खबर/राष्ट्र बैंकले पुँजी कोषमा दबाब रहेका बैंकले अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्न सक्ने व्यवस्था गरेको छ । अहिले ६/७ वाणिज्य बैंक र केही विकास बैंकहरूलाई पुँजी कोष दबाब छ।

त्यसैले पनि यस्तै दबाबमा रहेका बैंक तथा वित्तीय संस्थाहरूबाट नै यस्तो अग्राधिकार सेयर जारी हुने सम्भावना छ। अहिले राष्ट्र बैंकमा तीन संस्थाले यस्तो अग्राधिकार सेयर जारी गर्ने प्रस्ताव गरेका छन्।

नबिल बैंक, एनआइसी एशिया र कामना सेवा विकास बैंकले यस्तो प्रस्ताव गरेका हुन् । राष्ट्र बैंकले अविमोच्य असञ्चिति अग्राधिकार सेयर सम्बन्धमा विभिन्न १२ मापदण्ड तोकेको छ। यसमा कुनै बैंकको जोखिम सम्पत्तिको आधारमा प्राथमिक पुँजी कोष अनुपात ५.१२५ प्रतिशतमा आएमा यस्तो अग्राधिकार सेयरलाई सेयरकै रूपमा परिवर्तन गर्न पाइने व्यवस्था समेत छ।

यस्तो अनुपात ५.१२५ प्रतिशतमा पुग्दा नोक्सानी प्रशोचन गर्ने प्रयोजनका लागि त्यस्तो सेयर साधारण सेयरमा परिणत गर्नुपर्नेछ।
यस्तो अग्राधिकार सेयरमा संस्थागत लगानीकर्ताले मात्र लगानी गर्न सक्ने, लाभांश वितरण गर्दा नाफा नोक्सान बाँडफाँट हिसाबमार्फत् चालु आर्थिक वर्षको मुनाफाबाट मात्र गर्नुपर्ने र यसका लागि सञ्चित मुनाफा खाता एवं कुनै पनि कोष खर्च गर्न नपाइने लगायतका व्यवस्था गरिएको छ।