July 8th, 2024

वाणिज्य बैंकको लेखापरीक्षण : छनौटमा परेकाले बुझाएनन् प्रस्ताव

बैंकिङ खबर/नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुको अन्तर्राष्ट्रिय लेखापरीक्षणका लागि प्रस्ताव माग गर्ने अवधि बढाएको छ। केन्द्रीय बैंकले ८ दिन थप गर्दै छनौटमा परेका अडिट कन्सलटेन्सीहरुलाई प्रस्ताव पेस गर्न भनेको हो।

नेपाल राष्ट्र बैंकले १० ठूला वाणिज्य बैंकहरूको अन्तर्राष्ट्रिय लेखापरीक्षकबाट (एसेट क्वालिटी रि–भ्यु) सम्पत्तिको गुणस्तर परीक्षण तथा लोन पोर्टफोलियो रिभ्यु गराउन प्रस्ताव पेस गर्ने समयावधि थप गरेको हो।

आइतबार म्याद थप गरिएको सूचना जारी गर्दै राष्ट्र बैंकले छनौटमा परेका अडिट कन्सलटेन्सीहरुलाई प्रस्ताव पेस गर्न भनेको छ। छनौटमा परेका विदेशी कन्सलटेन्सीहरुले लेखापरीक्षणका लागि प्रस्ताव पेस नगरेपछि राष्ट्र बैंकले म्याद थपेर प्रस्ताव माग गरेको हो।

अन्तर्राष्ट्रिय मुद्रा कोषको विस्तारित कर्जा सुविधा सर्तअनुसार नेपालका १० ठूला वाणिज्य बैंकहरूको बाह्य लेखापरीक्षकबाट सम्पत्तिको गुणस्तर परीक्षण तथा लोन पोर्टफोलियो रिभ्यु गर्न विदेशी अडिट कल्सलटेन्सीबाट प्रस्ताव माग गर्दै आएको छ।