June 28th, 2024

वर्ल्ड एमएसएमई डे : एनएमबि बैंक सुर्खेत शाखाद्वारा उत्कृष्ट कारोबार गर्ने ग्राहकलाई सम्मान

बैंकिङ खबर/ एनएमबि बैंक सुर्खेत शाखाले ‘वर्ल्ड एमएसएमई डे २०२४’ को अवसरमा विशेष समारोहकाबीच आफ्ना ग्राहकहरुलाई सम्मान गरेको छ । सुर्खेत शाखाबाट उत्कृष्ट कारोबार गर्ने एमएसएमई अन्तर्गत माइक्रो, साना र मध्यम आकारका उद्यमकर्जा लिएका २८ जना ग्राहकहरुलाई सम्मान पत्र प्रदान गरिएको हो ।

सुर्खेत शाखाका शाखा प्रबन्धक सुमन सुवेदी, कर्जा विभागका कर्मचारीहरु ज्ञानेन्द्र पौडेल, धोजेन्द्र कुवँर, खड्क मगर, खगेन्द्र प्रसाद पाण्डे तथा विशेष अतिथिहरु निरक के.सी., कृष्ण प्रसाद आचार्य र पूर्ण प्रसाद जैसीको उपस्थितिमा उनीहरुलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा बोल्दै एनएमबि बैंक सुर्खेतका शाखा प्रबन्धक सुमन सुवेदीले एनएमबि बैंक दिगो बैंकिङको अवधारणा लिएर अगाडि बढिरहेको र माइक्रो, साना र मध्यम आकारका उद्यमीहरु यसका अभिन्न अंग रहेको बताउँदै उत्कृष्ट कारोबार गरेर सम्मानित हुने सबैलाई बधाइ दिएका थिए ।

उनले विषम आर्थिक परिस्थितिमा समेत बैंकसँगको सुमधुर सम्बन्ध कायम गर्दै साथ सहयोग पुर्‍याएको र समग्र अर्थतन्त्रमा समेत योगदान पुर्‍याएकोमा ग्राहकहरुलाई धन्यवाद प्रदान गरे । यस्तै उनले आगामी दिनहरुमा समेत ग्राहकको साथमा रहने र थप प्रोत्साहन गरिने बताए ।

कार्यक्रममा बोल्दै उद्योगी निरक के.सी.ले बैंक र ग्राहक एक अर्कालाई सहयोग गर्दै अगाडि बढ्नुपर्ने बताए । त्यस्तै अर्का वक्ता कृष्ण प्रसाद आचार्यले समग्र अर्थतन्त्रको अवस्थाको बारेमा बोल्दै युवा पुस्ताहरु पलायन भइरहेको समयमा एनएमबि बैंकले कर्णाली प्रदेशमै पहिलो पटक यसरी माइक्रो, साना र मध्यम उद्यमीहरुलाई सम्मान गर्दा सकारात्मक सन्देश जाने भन्दै प्रसंशा व्यक्त गरे ।

कार्यक्रममा बोल्ने क्रममा अर्का उद्यमी पूर्ण प्रसाद जैसीले एनएमबि बैंकको सहयोगले नै कर्णालीमै सबैभन्दा ठूलो ह्याचरी उद्योग स्थापना गर्न आफू सफल रहेको भन्दै आगामी दिनहरुमा समेत यस्ता उद्योगीहरुलाई एनएमबि बैंकले सहयोग गर्ने आशा राख्दै धन्यवाद व्यक्त गरे ।

माइक्रो, साना र मध्यम उद्यमीहरुको तर्फबाट कमल प्रसाद लामिछानेले एनएमबि बैंकसँग बैंकिङ कारोबार गर्दा आफू पूर्ण सन्तुष्ट रहेको बताए ।

संयुक्त राष्ट्र संघले प्रत्येक वर्ष अंग्रेजी क्यालेन्डर अनुसार जुन २७ तारिखलाई अन्तर्राष्ट्रिय एमएसएमई दिवस मनाउँदै आएको छ । यसपटक ‘बहुसंकटको समयमा द्रुत दिगो विकास र गरिबी उन्मुलन गर्न माइक्रो, साना र मध्यम आकारका उद्यमहरूको शक्ति र लचिलोपनको लाभ उठाऔँ’ भन्ने नाराका साथ संसारभर विभिन्न कार्यक्रमहरु गरी यो दिवस मनाइएको छ ।