June 24th, 2024

वित्तीय क्षेत्रको तरल दायित्व ७.१ प्रतिशतले वृद्धि

बैंकिङ खबर/ वित्तीय क्षेत्रको खुद वैदेशिक सम्पत्ति झण्डै साढे १७ खर्ब रुपैयाँ पुगेको छ । नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको ‘वित्तीय क्षेत्र सर्वेक्षण र अन्य वित्तीय संस्था सर्वेक्षण’ अध्ययन प्रतिवेदनले यस्तो देखाएको हो ।

राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको पुस मसान्तसम्म वित्तीय क्षेत्रको सम्पत्ति १९.५ प्रतिशतले बढेर १७ खर्ब ३८ अर्ब ८४ करोड रुपैयाँ पुगेको छ । चालु आवको ६ महिनामा वित्तीय क्षेत्रको वैदेशिक सम्पत्ति २ खर्ब ९१ अर्ब ७८ करोड रुपैयाँ बढेको हो । गत असार मसान्तसम्म यस्तो सम्पत्ति १४ खर्ब ४७ अर्ब ६ करोड रुपैयाँ थियो ।

त्यस्तै, यस अवधिमा खुद आन्तरिक सम्पति १.५ प्रतिशतले मात्र बढेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । २०८० असार मसान्तमा आन्तरिक सम्पत्ति ६८ खर्ब ४० अर्ब ८६ करोड रुपैयाँ रहेकोमा पुस मसान्त आइपुग्दा बढेर ६९ खर्ब ४३ अर्ब ९ करोड रुपैयाँ पुगेको छ ।

वित्तीय क्षेत्रको तरल दायित्व २०८० असार मसान्तमा ५३ खर्ब ६८ अर्ब ३५ करोड रुपैयाँ रहेकोमा ७.१ प्रतिशतले बढेर ५७ खर्ब ४९ अर्ब ३६ करोड रुपैयाँ पुगेको छ ।

यसैगरी, वित्तीय क्षेत्रभन्दा बाहिर चलनचल्तीमा रहेको मुद्रा २०८० असारमा ५ खर्ब १२ अर्ब ५१ करोड रुपैयाँ रहेकोमा पुससम्म ३.६ प्रतिशतले बढेर ५ खर्ब ३० अर्ब ९९ करोड पुगेको राष्ट्र बैंकले जनाएको छ ।

वित्तीय क्षेत्रको नेपाल सरकार माथिको खुद दाबी २०८० असार मसान्तमा १० खर्ब २४ अर्ब ९५ करोड रहेकोमा पुस मसान्तमा ८.३ प्रतिशतले घटेर ९ खर्ब ४० अर्ब ३४ करोड रुपैयाँ रहेको छ । यस्तै, वित्तीय क्षेत्रको निजी क्षेत्रमाथिको दाबी ३.२ प्रतिशतले वृद्धि भई ५९ खर्ब ६५ अर्ब ९२ करोड रहेको रुपैयाँ पुगेको छ ।