June 23rd, 2024

खराब कर्जाको बढ्दो ट्रेन्डले वित्तीय संस्थाको नाफा, पुँजी कोषमा प्रभाव : पूर्व बैंकर क्षेत्री

फाइल तस्बिर

बैंकिङ खबर/ पूर्व बैंकर पर्शुराम कुवँर क्षेत्रीले खराब कर्जाको बढ्दो ट्रेन्डले वित्तीय संस्थाको नाफा, पुँजी कोष र तरलतामा प्रभाव परेको बताएका छन् ।

नेपाल आर्थिक पत्रकार संघ(नाफिज)ले आयोजना गरेको ‘नेपाली बैंकिङ क्षेत्रमा जोखिमपूर्ण सम्पतिको व्यवस्थापन’ विषयक अन्तरक्रियामा कार्यपत्र प्रस्तुत गर्दै उनले ५ वर्षअघि १.८१ प्रतिशत रहेको बैंकको खराब कर्जा अहिले ३.९८ प्रतिशत पुग्नु ठूलो दबाब रहेको बताए ।

यस्तै अर्थतन्त्रमा देखिएको सुस्तताले बैंक तथा वित्तीय संस्थाको जोखिमपूर्ण सम्पति पनि बढ्दै गएको उनको भनाइ छ । उनले भने, ‘२०७६ मा प्रोभिजनिङ ६९ अर्ब रहेकामा अहिले २ खर्ब ३३ अर्ब पुगेको छ । लोन लस प्रोभिजनको शिर्षकमा रकम बढ्दै गएको । २०७६ मा गैर बैंकिङ सम्पति साढे ६ अर्ब रहेकोमा अहिले २७ अर्ब ४ करोड रुपैयाँ पुगेको छ, ५ वर्षअघि रिटर्न अन इक्विटी (आरओई) १२.५९ थियो, अहिले ७.६८ प्रतिशत छ ।’

यस्तै, उनले ५ वर्षको अवधिमा बैंकहरुको नाफा पनि १७ प्रतिशतले घटेको तथ्यांक प्रस्तुत गरे । बजारमा बैंकहरुले अरबौं कमाए भनेर हल्ला भए पनि त्यो भ्रम मात्रै रहेको उनको भनाइ छ । २०८० को वित्तीय प्रतिवेदन अनुसार १० वटा बैंकको वितरणयोग्य नाफा ऋणात्मक रहेको बताउँदै ४ वटाको २ प्रतिशतभन्दा कम र ३ वटा बैंकको ४ देखि ६ प्रतिशतको हाराहारीमा वितरणयोग्य नाफा रहेको उनले बताए ।

उनले पुँजी कोषको दबाबकै कारण कर्जा नबढ्ने तर प्रोभिजन बढ्ने अवस्था देखिएको सुनाए । उनले भने, ‘जोखिमपूर्ण सम्पतिको ट्रेन्ड डरलाग्दो छ । तर, आत्तिनु हुँदैन । अहिले पुँजी कोष कायम गर्न नसक्ने २ बैंक छन्, १८ वटा बैंकको कर्जा प्रवाह गर्न सक्ने क्षमता पनि करिब ६ खर्ब रुपैयाँ छ, अहिले बैंकहरुको ६ खर्ब ९२ अर्बको पुँजी कोष छ, त्यसमा ८३ अर्ब घटेमा बैंकको पुँजी कोष १०.९९ कायम हुन जान्छ, यसले बैंकलाई थप सकस सिर्जना गर्न सक्छ ।’