बैंकिङ खबर/ सरकारी ऋणपत्रहरू, नागरिक बचत पत्र र वैदेशिक रोजगार बचत पत्रको निष्कासन, नामसारी, भूक्तानी र शोधभर्ना लगायतका सम्पूर्ण काम नेपाल सरकार अर्थ मन्त्रालय अन्तरगतको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले हेर्ने भएको छ ।
ट्रेजरी बिल्सको निष्कासन र भुक्तानीको कार्य यसअघि नै गर्दै आएको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले २०८१ असार १ गतेदेखि भने ऋणपत्र र बचतपत्रको काम पनि गर्ने भएको हो । नेपाल राष्ट्र बैंकले एक सूचना जारी गर्दै २०८१जेठ मसान्तसम्म परिपक्क भएका विकास ऋणपत्र, नागरिक बचतपत्र र वैदेशिक रोजगार बचतपत्रको साँवा तथा सो मितिसम्म आर्जित ब्याजको शोधभर्ना भने नेपाल राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभाग बालुवाटार मार्फत उपलब्ध गराउने जनाएको हो । असार १ गतेपछिको हकमा भने २०८१ असार १ गतेदेखि नागरिक बचत पत्र र वैदेशिक रोजगार बचत पत्रको दोस्रो बजारको कारोबार तथा साँवा, ब्याज भुक्तानी पनि सार्वजनिक ऋण व्यवस्थापन कार्यालयल गर्न थालेको हो ।
यसअघि राष्ट्र बैंकबाटै सार्वजनिक ऋणपत्र तथा बचतपत्र जारी हुँदै आएको यसको जिम्मेवारी सार्वजनिक ऋण व्यवस्थापन कार्यालयमा सारिएको थियो । सो मध्ये नागरिक बचतपत्र र वैदेशिक रोजगार बचतपत्रको दोस्रो बजारको कारोबार भने अब सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले नै हेर्ने भएको हो । विसं २०८० चैत १ गतेसम्म जारी भएका नागरिक बचतपत्र र वैदेशिक रोजगार बचतपत्रको परिपक्क भएको साँवा तथा ब्याज भुक्तानी गरी सोको शोधभर्ना माग गर्न सर्तहरू पालना गर्न समेत अनुरोध गरिएको छ ।
यस्ता छन् सर्तहरूः–
–२०८१ जेठ ३२ सम्म परिपक्क भएको साँवा तथा ब्याज सम्बन्धित धनीलाई भुक्तानी दिई साविक बमोजिम नै नेपाल राष्ट्र बैंकसँग सोधभर्ना माग गर्ने ।
–२०८१ असार १ देखि परिपक्क भएको साँवा तथा ब्याजको भुक्तानी दिई बचत पत्रको ब्याज भुक्तानी गर्न तयार गरिएको भौचरको कार्यालय प्रति समावेश गरी सार्वजनिक ऋण व्यवस्थापन कार्यालयमा सोध भर्ना माग गर्ने ।
–बचत पत्रको नामसारीको लागि कार्यालयको वेबसाइटबाट फाराम डाउनलोड गरी फाराममा उल्लेखित विवरण पेश गर्नुपर्ने ।
–नेपाल राष्ट्र बैंकमार्फत जारी भएका साविकका नागरिक बचत पत्र र वैदेशिक रोजगार बचतपत्रलाई ऋण व्यवस्थापन कार्यालयले प्रयोगमा ल्याएको डीओएमएस मा डिजिटलाइट गर्ने प्रयोजनार्थ ऋण व्यवस्थापन कार्यालयले विकास गरेको फारम कार्यालयको वेबसाइटबाट डाउनलोड गरी धनीलाई भराई शोधभर्ना गर्ने कागजातसँग पेश गर्ने ।