June 10th, 2024

कोशीमा २२ हजारले लिए ३४ अर्ब रुपैयाँमाथिको सहुलियतपूर्ण कर्जा

बैंकिङ खबर/कोशी प्रदेशमा २२ हजार १०७ जनाले सहुलियतपूर्ण कर्जा लिएका छन्। नेपाल राष्ट्र बैंकले कोशी प्रदेशमा मात्रै ३४ अर्ब २ करोड सहुलियत कर्जा प्रवाह गरेको जनाएको हो। बैंकले सोमबार सार्वजनिक गरेको कोशी प्रदेशको आर्थिक तथा वित्तीय अवस्थाको संक्षिप्त विवरणमा २०८० फागुनसम्म २२ हजार १०७ जनाले ३४ अर्ब २ करोड रुपैयाँ बराबरको सहुलियत ऋण लगेका हुन्।

जसमा व्यवसायीक कृषि तथा पशुपंक्षी कर्जा शीर्षकमा ८ हजार ९२२ जनाले २० अर्ब ११ करोड रुपैयाँ कर्जा लिएका छन्। त्यस्तै, ११ जनाले ६० लाख रुपैयाँ शिक्षित युवा स्वरोजगार अन्तर्गत लिएका छन्। यो बाहेक विदेशबाट फर्केका युवा परियोजना कर्जामा १ सय ७१ जनाले १४ करोड ४४ लाख, महिला उद्यमशील कर्जामा १२ हजार ८६३ जनाले १३ अर्ब ६७ लाख, दलित समुदाय व्यवसाय विकास कर्जामा १०४ जनाले ७ करोड ९ लाख रुपैयाँ कर्जा लिएका छन्।

यो बाहेक उच्च र प्राविधिक तथा व्यवसायिक शिक्षा कर्जामा १६ जनाले ८६ लाख, भुकम्प पीडितहरुको निजी आवास निर्माण कर्जा अन्तर्गत १९ जनाले ५६ लाख र युवा वर्ग स्वरोगकार कर्जा तर्फ १ जनाले ५ लाख रुपैयाँ सहुलियतपूर्ण कर्जा लिएका हुन्।