बैंकिङ खबर/ तत्कालीन सेन्चुरी कमर्सियल बैंकका तत्कालीन अध्यक्ष राजेश श्रेष्ठसहित ८ जना पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले उनीहरूलाई काठमाडौंका विभिन्न ठाउँबाट पक्राउ गरेको हो ।
उनीहरूमाथि धितो कम राखेर बढी ऋण दिएको र देउराली सहकारीमा ठूलो लगानी गरेको आरोप छ । यसअघि सो प्रकरणमा विसं २०८० फागुन १५ गते तत्कालीन सेञ्चुरी बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज न्यौपाने र तुलसी गौतमसहितका कर्मचारी पक्राउ परेका थिए ।
यसअघि २०८० फागुनमा तत्कालीन सेञ्चुरी कमर्सियल बैंकमा रहँदा प्रमुख कार्यकारी अधिकृत रहेका मनोज न्यौपानेसँगै पूर्वप्रमुख कार्यकारी अधिकृत तुलसी गौतमलाई पनि सिआइबीले पक्राउ गरेको थियो।
त्यसबेला राजेश भण्डारी, दिलिप बराल, सुवासबहादुर श्रेष्ठ, अनुपमा श्रेष्ठ मानन्धर, सविन घिमिरे, रमन श्रेष्ठ, दिपेश प्रधान र सुनिल बस्नेत पनि पक्राउ परेका थिए। उनीहरू केही समयमा हाजिर जमानीमा छुटेका थिए।
सिआइबीले देउराली बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड सातदोबाटोमाथि अनुसन्धान गरेको थियो। उक्त संस्थामा आबद्ध रहेका सञ्चालक समितिका पदाधिकारीहरू, उनीहरूसँग सम्बन्धित कम्पनीहरूको विवरण र कम्पनीहरूले लिएका कर्जाको विषयमा सिआइबीले अनुसन्धान गरेको थियो।
त्यसबेला पक्राउ परेका देउराली सहकारीका अध्यक्ष रवीन्द्र चौलागाईंसहितले सहकारीको रकम अपचलन गरेको आरोप थियो। चौलागाई आबद्ध चार कम्पनीलाई तत्कालीन सेन्चुरी कमर्सियल बैंकले ऋण प्रवाह गरेको पाइएको थियो।