June 10th, 2024

स्टार्टअप उद्यम कर्जाका लागि १८३ प्रस्ताव छनोट

बैंकिङ खबर/ स्टार्टअप उद्यम अन्तर्गत उद्यम कर्जा प्रवाह गर्न १८३ वटा परियोजनाको प्रस्ताव छनोट गरेको छ । औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले योग्य प्रस्तावकको सूचीमा परेको ३९४ वटा परियोजना प्रस्तावमध्ये सबै प्रक्रिया पुरा गरी १८३ वटा परियोजनाको प्रस्ताव उद्यम कर्जाको लागि छनोटमा परेको हो ।

उद्यम कर्जाका लागि १ हजार ६५८ वटा आवेदन परेका थिए । यसमध्ये मूल्याङ्कन समितिले सबै प्रक्रिया पुगेका ३ सय ९४ परियोजनालाई छनोट गरेको हो । यसमध्ये पनि सबै प्रक्रिया पूरा गरी मूल्याँकनको आधारमा शर्ट लिस्ट गर्दा १८३ वटा परियोजना प्रस्ताव कर्जाको लागि योग्य मानिएको छ ।

कर्जाको लागि छनोट भएका परियोजना प्रस्तावकलाई आगामी असार २३ गतेसम्म सम्बन्धित राष्ट्रिय बाणिज्य बैंकको शाखा कार्यालयमा सम्पर्क गर्न प्रतिष्ठानले सूचना जारी गरेको छ । उक्त अवधीमा सम्पर्क नगरेको अवस्थामा परियोजनाको प्रस्ताव स्वतः खारेज हुने व्यवस्था गरिएको छ ।

बैंकमा सम्पर्क गर्नका लागि व्यवसाय दर्ता र नवीकरणको सक्कल प्रमाणपत्र, प्यान भ्याट दर्ताको सक्कल प्रमाणपत्र, नागरिकताको सक्कल प्रमाणपत्र, आर्थिक वर्ष २०७९/८० को कर चुक्ताको प्रमाणपत्र, आधिकारिक व्यक्तिको पासपोर्ट साइजको ३ प्रति फोटो र फर्म वा कम्पनीको छापसहित उपस्थित हुनुपर्ने व्यवस्था गरिएको छ ।

उद्यम कर्जाका लागि कृषि, हाते कागज, बेकरी, फुटवेयर, डेरी, ड्राई क्लिनर्स, टेक्नोलोजी, स्लेट र ढुङ्गा काट्ने, रेडिमेड, हस्तकला तथा गार्मेन्ट, मेटल, टुरिज्म, पशुपन्छी पालन, फर्निचरलगायतका बिषयमा परियोजना प्रस्ताव स्वीकृत भएको छ ।