बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले कर्जा र निक्षेपको ब्याजदर अन्तर (स्प्रेड) तोकिएको सीमा भन्दा धेरै कायम गर्ने संस्थालाई कारबाही गरेको छ। केन्द्रीय बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ४.६ प्रतिशत भन्दा धेरै स्प्रेड कायम गर्ने विकास बैंकहरुलाई कारबाही गरेको हो ।
चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा केन्द्रीय बैंकले विभिन्न नियामकीय मापदण्ड पुरा नगर्ने ५ विकास बैंक र एक फाइनान्स कम्पनीलाई कारबाही गरेको छ । यसरी कारबाहीमा पर्नेमा लुम्बिनी विकास बैंक, एक्सल डेभलपमेन्ट बैंक, कर्णाली डेभलपमेन्ट बैंक, नारायणी विकास बैंक, सिन्धु विकास बैंक र जानकी फाइनान्स रहेका छन् ।
सो अवधिमा केन्द्रीय बैंकले एक्सल डेभलपमेन्ट बैंकलाई ग्राहक पहिचान विवरण नराखेको र स्प्रेड दर तोकिएको सीमा भन्दा माथि राखेको भन्दै २ फरक शिर्षकमा कारबाही गरेको जनाएको छ ।
चालु आवको चैतसम्म आइपुग्दा एक्सेल डेभलपमेन्ट बैंक सहित कर्णाली र नारायणी बैंकको पनि स्प्रेड रेट ४.६ प्रतिशत भन्दा धेरै भएपछि कारबाही गरेको छ । साथै नारायणी डेलपमेन्ट बैंकलाई अनिवार्य मौज्दात कायम नगरेपछि आर्थिक जरिवाना पनि गरेको छ ।
केन्द्रीय बैंकले चालु आवको तेस्रो त्रैमासमा लुम्बिनी विकास बैंकलाई ग्राहक पहिचान विवरण प्रयाप्त रुपमा नराखेको भन्दै सचेत गराएको छ । त्यसैगरी स्प्रेड तोकिएको सीमा भन्दा धेरै कायम गर्ने एक्सल डेभलपमेन्ट बैंक, नारायणी विकास बैंक र कर्णाली डेभलपमेन्ट बैंकका सञ्चालक समिति तथा प्रमूख कार्यकारी अधिकृतलाई सचेत गराएको जनाएको छ । यसरी स्प्रेड रेट तोकिए भन्दा धेरै राख्ने संस्थालाई ९० दिनको समय दिदै सीमामा ल्याउन समेत निर्देशन दिएको केन्द्रीय बैंकले जनाएको छ ।
त्यसैगरी केन्द्रीय बैंकले चालु आवको तेस्रो त्रैमासमा सिन्धु विकास बैंकलाई पनि कारबाही गरेको छ । सिन्धु विकास बैंकका अध्यक्षले नियमानुसार संस्थामा बुझाउनुपर्ने सम्पत्ति तथा दायित्वको यथार्थ विवरण समयसीमा भित्र नवुझाएको तथा विगतमा व्यक्तिगत जमानीमा प्रवाहित केही कर्जाहरुको साधारण व्याज समेत मिनाहा गरी साँवा रकम मात्र असुल गरी संस्थालाई हानी नोक्सानी पु¥याएको कसुरमा कारबाही गरेको केन्द्रीय बैंकले जनाएको छ ।




