बैंकिङ खबर/ अर्थमन्त्री वर्षमान पुनले बजेटमार्फत निजी क्षेत्रलाई साथमा लिएर जाने लक्ष्य रहेको बताएका छन् । आगामी आर्थिक वर्ष २०८१/ ०८२ को बजेट सार्वजनिक पछि बुधबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै अर्थमन्त्री पुनले देशको आर्थिक विकासमा निजी क्षेत्रलाई साझेदारीका रुपमा अघि बढाउन चाहेको बताए ।
पूर्वाधार निर्माणमा सरकार एक्लैले खर्च गर्न नसक्ने उनको भनाइ छ । अर्थमन्त्री पुनले निजी क्षेत्र साथमा लिएर मनोबल बढाउने कोसिस गरिएको बताए ।अर्थमन्त्री पुनले अहिलेको आर्थिक शिथिलताको अवस्थामा आशा जगाउने खालको बजेट आएको पनि बताए ।
बजेटले आम जनतामा आशा जगाउने प्रयास गरिएको भन्दै उनले युवामा देशभित्र अवसर खोज्ने प्रयास गरिएको उनको भनाइ छ ।पूर्वाधार विकासमा लाग्ने अर्बौ रुपैयाँको लागत निजी क्षेत्रको सहायतामा अघि बढाउने निष्कर्षमा सरकार पुगेको उनको भनाइ थियो ।साथै उनले बजेटमार्फत नयाँ चरणको आर्थिक सुधार गर्न चाहेको बताएका छन् ।
राज्यको सीमित स्रोत साधनका बाबजुद नयाँ चरणको आर्थिक सुधारको प्रयत्न गरेको बताए । साथै उनले नयाँ चरणको आर्थिक सुधारका लागि उच्चस्तरीय आयोग नै गठन गरेर विज्ञहरुसँग छलफल गर्ने पनि बताए ।
यसका लागि विगतमा लिइएका बाटाहरूको समीक्षा गर्दै आगामी कार्य योजनाको रोडम्याप लगायतका काम गर्ने गरी आयोग गठन गर्ने पनि उनको भनाइ छ ।अर्थमन्त्री पुनले स्थानीय तहलाई आर्थिक, राजनीतिक र प्रशासनिक केन्द्रका रुपमा विकास गर्न आवश्यक रहेको पनि बताए ।सोही कुरालाई ध्यानमा राख्दै सरकारले बजेट ल्याएको उनले बताए ।
उनले स्थानीय तहमा औद्योगिक प्रवर्द्धन, पूर्वाधार विकास, शैक्षिक सुधार र स्वास्थ्य संस्थाको स्थापना लगायतका लक्ष्य बजेटमार्फत लिइएको पनि बताए ।