बैंकिङ खबर/ आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेड केन्द्रीय कार्यालय बनेपाको आयोजनामा बागमती प्रदेशको धुलिखेल, बनेपामा र गण्डकी प्रदेशको दमौली, तनहुँमा Training On Behavioral Skills And Capacity Development तालिम प्रदान गरेको छ ।
सामान्य सेवा विभाग प्रमुख ख्यामकान्त अर्याल र कार्यक्रम अधिकृतसहित दुई वटै प्रदेशमा कार्यरत सम्पूर्ण शाखा प्रबन्धक र सहायक कर्मचारीसहित १ सय २० जना कार्यरत कर्मचारीहरुलाई Training On Behavioral Skills And Capacity Development सम्बन्धी अभिमुखीकरण तालिम प्रदान गरेको हो ।
तालिम संस्थाका प्रमुख कार्यकारी अधिकृत शिव प्रसाद ज्ञवालीको अध्यक्षतामा सञ्चालन भएको थियो । साथै कार्यक्रममा प्रमुख कार्यकारी अधिकृतले कर्मचारीलाई उच्च मनोबलका साथ र अनुशासित भएर संस्थाको उद्देश्य केन्द्रित कार्यमा सबैले आ–आफ्नो पदिय जिम्मेवारी पुरा गर्नुपर्ने र आगामी दिनमा सबैजना कर्मचारी आ-आफ्नो कार्यसम्पादनमा सफल हुने विश्वास व्यक्त गरेका थिए ।
कार्यक्रममा केन्द्रीय कार्यालय वित्त व्यवस्थापन विभाग प्रमुख मनरुपा पौडेलले कार्यक्रम सञ्चालन तथा सहजीकरण गरेका थिए भने केन्द्रीय कार्यालय आन्तरिक लेखापरीक्षण विभागमा कार्यरत रोशन प्रसाद जैशी, जनशक्ति व्यवस्थापन विभागमा कार्यरत सन्दिप खनाल र वित्त व्यवस्थापन विभागमा कार्यरत सुदिप लुँइटेलले कार्यक्रममा सहजीकरण गरेका थिए ।
आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडको ६ प्रदेश, ४३ जिल्लाहरुमा १४० शाखा कार्यालयहरु, ६ प्रदेश कार्यालय र केन्द्रीय कार्यालय गरी १४७ कार्यालय सञ्जालमार्फत संस्थाले लघुवित्त सेवा प्रदान गर्दै आइ रहेको छ ।
संस्थाले ग्रामीण क्षेत्रमा बसोबास गर्ने गरीब, विपन्न परिवारका महिलाहरुलाई समूहमा आवद्ध गराई विना धितोमा कर्जा लगानी गर्नुका साथै सीपमूलक तालिम, वित्तीय साक्षरता तालिम कार्यक्रमहरु सञ्चालन गर्दै ग्राहक सदस्यहरुको आर्थिक, सामाजिक, बौद्धिक विकास गर्दै आइ रहेको छ । २०८० पुस मसान्तसम्म ९९ हजार सदस्य, ३८ हजार ऋणी मार्फत १ अर्व ४८ करोड बचत संकलन गरी ४ अर्व ४८ करोड कर्जा लगानी गरेको छ ।