बैंकिङ खबर/ राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनालले शपथ तथा पदभार ग्रहण गरेका छन्। बैंक सञ्चालक समितिका अध्यक्ष दिलिपकुमार ढुङ्गानाबाट एक कार्यक्रमका बीच शुक्रबार पद तथा गोपनीयताको शपथ लिएको बैंकले जनाएको छ।
बैंक सञ्चालक समितिको बिहीबारको बैठकले बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ को दफा २९ को उपदफा २ तथा बैंकको नियमावलीको नियम ३५ को उपनियम ३ को व्यवस्थाबमोजिम देवेन्द्ररमण खनाललाई बैंकको प्रमुख कार्यकारी अधिकृत पदमा चार वर्षका लागि नियुक्ति गरिएको थियो।
पदभार ग्रहणको अवसरमा नवनियुक्त प्रमुख कार्यकारी अधिकृत खनालले सरकार, राष्ट्र बैंक तथा बैंकले लिएको नीतिको कार्यान्वयन गरी नागरिकमा गुणस्तरीय सेवा प्रवाह गर्दै सबै सरोकारवालाले पाउने हिस्सामा वृद्धि हुने गरी कार्य गरिने बताए।
चार्टर्ड एकाउन्टेन्ट खनाल यसअघि बैंकको का.मु. प्रमुख कार्यकारी अधिकृत थिए। २०६४ सालमा चार्टर्ड एकाउन्टेन्टको रुपमा प्रवेश गरेका खनाल व्यवस्थापनमा स्नातकोत्तर तथा कानुनमा एलएलबी तहको अध्ययन पूरा गरेका छन्।
यसअघि रिक्त रहेको बैंकको प्रमुख कार्यकारी अधिकृतको पदमा खुल्ला प्रतिस्पर्धाबाट छनौट गरी नियुक्त गर्नका लागि बैंकले गत वैशाख ७ मा दरखास्त आवेदन माग गरेको थियो।




