बैंकिङ खबर/बैंक तथा वित्तीय संस्थाहरुले पछिल्ला दिनहरुमा बैंक तथा वित्तीय संस्थाविरुद्ध लक्षित क्रियाकलाप झन् बढ्दै गएको भन्दै सरोकारवालाहरुको ध्यानकर्षण गराएका छन्।
नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एशोसिएसन, नेपाल वित्तीय संस्था संघ र नेपाल लघुवित्त बैंकर्स संघले संयुक्त विज्ञप्ति जारी गर्दै वित्तीय क्षेत्रमा व्याप्त अवाञ्छित गतिविधिहरु लाई तत्काल नियन्त्रण गरी अत्यावश्यक सेवा अन्तर्गत रहेका बैंक तथा वित्तीय संस्थालाई सहज रुपमा सेवा प्रदान गर्ने वातावरण बनाइ दिन र आवश्यक सुरक्षाको व्यवस्था मिलाइ दिनका लागि सरकारसँग जोडदार माग गरेका छन्।
विगत केही समय यता केही व्यक्ति तथा समूहले आफ्नो निहित स्वार्थ पूर्ति गर्ने उद्देश्यले बैंक तथा वित्तीय संस्था विरुद्ध अनर्गल प्रचार गर्ने, ती संस्थाका कार्यालय तोडफोड गर्ने, कर्मचारीहरु लाई तर्साउने तथा धम्क्याउने काममा अवरोध पुर्याउने जस्ता अराजक क्रियाकलाप गर्दै आएको उनीहरुको भनाई छ ।
पछिल्ला दिनहरुमा यस्ता क्रियाकलाप झन् बढ्दै गएको र विशेष गरी लघुवित्त वित्तीय संस्थाहरुलाई त्यस्ता अराजक व्यक्ति तथा समूहहरुले थप लक्षित गरेको देखिएको छ । पछिल्लो समय यता विभिन्न लघुवित्त संस्थाहरुका केही शाखाहरुमा केही अप्रिय घटनाहरु भएका छन् । कर्मचारीहरुलाई भौतिक आक्रमण गर्ने, तर्साउने, धम्क्याउने, कार्यालय तोडफोड गर्ने लगायतका निन्दनीय कार्यहरु भएकोप्रति गम्भिर ध्यानकर्षण गराएका छन ।
आफ्ना ग्राहकहरुलाई सेवा दिन अहोरात्र खटिएका कर्मचारीहरु माथि गरिएको यस प्रकारको घटना प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । करौडौं व्यक्तिहरुको श्रम र पसिनाले आर्जित निक्षेपलाई सुरक्षाको जिम्मेवारी लिएर सञ्चालन भइरहेका बैंक तथा वित्तीय संस्थाहरुलाई आफ्ना निहित स्वार्थ पूर्तिका लागि नियोजित रुपमा आक्रमण गर्ने त्यस्ता व्यक्ति तथा समूहहरुको अराजक क्रियाकलापको हामी भर्त्सना गर्दछौं । संयुत्त विज्ञप्तिमा भनिएको छ ।
लघुवित्त क्षेत्रमा व्याप्त अन्यौलको स्थितिलाई समाधानका लागि नेपाल सरकारले कार्यदल गठन गरी कार्य गरिरहेको अवस्थामा समेत भईरहेका यस्ता अवाञ्छित गतिविधिले वित्तीय सेवा सहज रुपमा पाउने अधिकारबाट ग्राहकवर्ग वञ्चित हुन पुगेका छन् । प्रचलित ऐन, कानून बमोजिम स्थापित संस्थाहरुले कानून बमोजिम सहज रुपमा कारोबार गर्ने अधिकारबाट वञ्चित हुन पुगेकोमा खेद प्रकट गरेका छन्।
Joint Press Release 20 May 2024




