निजी क्षेत्रको निर्जीवन बीमा कम्पनी शिखर इन्स्योरेन्स कम्पनिले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ८ करोड ७० लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । कम्पनीले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १ सय ०५ दशमलव ५२ प्रतिशत बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीले जम्मा ४ करोड २३ लाख रुपैयाँ मुनाफा कमाएको थियो ।
शिखर इन्स्योरेन्सले आम्दानीमा १ सय २ दशमलव ८५ प्रतिशतले वृद्धि गरी १४ करोड २१ लाख रुपैयाँ पुर्याएको छ । बीमा शुल्क (खुद) आम्दानी ३५ करोड रुपैयाँ पुगेको छ भने कुल ६९ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । त्यस्तै खर्चमा ९६ दशमलव ४२ प्रतिशत बढेर ५ करोड ५१ लाख रुपैयाँँ पुगेको छ । दाबी भुक्तानी (खुद) ७ करोड ४९ लाख रुपैयाँ पुगेको छ भने कुल ३८ करोड ७५ लाख रुपैयाँ बराबरको कुल दाबी भुक्तानी गरेको छ । शिखर इन्स्योरेन्सको जारी बीमालेख संख्या ६५ हजार ८ सय ८१ वटा रहेको छ भने कुल दाबी भुक्तानी संख्या १ हजार १ सय ८० वटा रहेको छ ।
शिखर इन्स्योरेन्सले जगेडा कोषमा १ सय ९७ दशमलव ४३ प्रतिशतले वृद्धि गरी ४६ करोड ४४ लाख रुपैयाँ राखेको छ, कम्पनीले गत वर्षको सोहि अवधिमा जगेडा कोषमा १५ करोड ६७ लाख रुपैयाँ राखेको थियो । त्यस्तै कम्पनीको बीमाकोषमा पनि ४८ दशमलव ६६ प्रतिशतले वृद्धि गरेर ५० करोड १८ लाख रुपैयाँ पुगेको छ । जसको चुक्ता पुँजी ५० करोड ९८ लाख रुपैयाँ रहेको छ ।
शिखर इन्स्योरेन्सको पहिलो त्रैमास अनुसार प्रति शेयर आम्दानी वार्षिक ६८ दशमलव २६ रुपैयाँ, मूल्य आम्दानीको अनुपात ५८ दशमलव १६ गुणा र प्रतिशेयर नेटवर्थ २ सय ९६ दशमलव २४ रुपैयाँ रहेको छ ।