
बैंकिङ खबर/सहकारी विभागले सहकारीका सञ्चालकहरुलाई आफ्नो जिम्मेवारी र जवाफदेहीताबाट नपन्छिन निर्देशन दिएको छ । संस्था राम्रैसँग सञ्चालन हुँदा संस्थागत संलग्नताको पदीय हैसियतसहित आफूलाई परिचय गराउने तर संस्थामा केही समस्या देखिनासाथ पन्छिने गरेको भन्दै विभागले सामूहिक दायित्व लिन र जवाफदेहीता बन्न देशभरका सहकारी सञ्चालकहरुलाई भनेको छ ।
‘सञ्चालक समितिमा त्यत्तिकै राखिदिएछन्, सञ्चालक समितिको सदस्य भएपनि मलाई केही थाहा छैन, सबै अध्यक्ष र व्यवस्थापकलाई थाहा छ भनि जिम्मेवारीबाट पन्छिन खोज्ने गरेको देखिन्छ,’ विभागले भनेको छ, ‘केही व्यक्ति भने जिम्मेवारीबाट अलग गराई पाँउ भनि विभागमा आउने गरेका छन् ।’ सहकारी संघसंस्थामा सञ्चालक समिति, लेखा सुपरीवेक्षण समिति र सम्पूर्ण सेयर सदस्य समेतको सामूहिक जिम्मेवारी हुने विभागले स्मरण गराएको छ ।



