
बैंकिङ खबर/ जिल्ला प्रहरी कार्यालय म्याग्दीले बेनीमा सञ्चालित शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाबाट पीडित भएकालाई उजुरी गर्न अपिल गरेको छ ।
एक वर्षअघि बेनी नगरपालिका–८ न्यूरोडमा स्थापना भएको सहकारी छ महिनायता बन्द छ । सहकारी ऐनसम्बन्धी कसुरमा गत असार १७ गते दर्ता भएको मुुद्दाको अनुसन्धानका क्रममा थप पीडित बचतकर्तालाई पनि उजुरी गर्न आह्वान गरिएको कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक कुुमार गुरुङले बताए ।
भक्तपुरको मध्यपुुरथिमि नगरपालिका–३ कौलसटारमा केन्द्रीय कार्यालय रहेको शिवशिखर सहकारीले बेनीका बचतकर्ताले बचत गरेको साँवा र ब्याज फिर्ता नगरेको गुुनासो गरेका छन् । सहकारीले २०७९ वैशाखमा बेनीमा सदस्य सेवा केन्द्र विस्तार गरेको थियो ।
बचतकर्ता सेयर सदस्यको करिब छ करोड ५० लाख सहकारीमा निक्षेप रहेको अनुमान गरिएको छ । पैसा फिर्ता लिन सहकारीमा आएका निक्षेपकर्ता निराश हुँदै फर्किने गरेका छन् । निक्षेप फिर्ता नगरेको भन्दै बेनी नगरपालिकाको न्यायिक समितिमा समेत सहकारीविरुद्ध उजुरी परेको थियो ।



