Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

शिव शिखर सहकारी ठगी प्रकरणः नाइके केदारनाथ शर्मा जेल चलान

२०८० भाद्र १४ गते

बैंकिङ खबर/शिव शिखर सहकारीको संगठित ठगीका नाइके केदारनाथ शर्मा जेल चलान भएका छन् । जिल्ला अदालत, काठमाडौंले उनलाई बुधबार पुर्पक्षका लागि कारागार चलान गरेको हो ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सिआइबी)को अनुसन्धानका आधारमा जिल्ला सरकारी वकिल कार्यालयले उनीविरुद्ध संगठित सहकारी ठगीसम्बन्धी मुद्दा दायर गरेको थियो । जसमा उनी थुनामा गएको र पक्राउ परेका अन्य तीनजनालाई धरौटीमा छाड्ने आदेश भएको सिआइबीका प्रवक्ता एसपी नवराज अधिकारीले बताए ।
उनीसँगै पक्राउ परेकी कीर्तिपुर शाखाका प्रमुख रसना शाक्यसँग १० लाख तथा लेखा समितिको सदस्य रहेका रमेश खाइजू र शिवप्रसाद पौड्यालसँग सात–सात लाख धरौटी रकम माग भएको छ । उनीहरूमध्ये रसना धरौटी बुझाएर छुटेकी छिन् भने अन्य दुई जेल चलान भएका छन् । उनीहरुलाई अन्य जिल्लामा पनि मुद्दा चलाउने प्रहरी तयारी छ ।

काठमाडौं शाखाका सेयर सदस्यको उजुरीका आधारमा उनीहरूविरुद्ध मुद्दा दायर भएको हो । काठमाडौंका विभिन्न शाखामा सो सहकारीमा २१ हजार तीन सय ६९ हजार रुपैयाँ बचत देखिएको थियो । तर, प्रहरीमा एक हजार एक सय ४५ जनाले ७८ करोड १९ लाख ६३ हजार रुपैयाँबराबरको जाहेरी दिएका थिए । ७८ करोडकै बिगोको कायम गरी मुद्दा दायर भएको थियो ।

जेलमा रहेकी केदारनाथकी श्रीमती गीता शर्मा, संस्थाका कार्यकारी निर्देशक अमिश राजभण्डारी र शिखर अर्गनाइजेनसका मेनेजर पुष्कर मल्ल यसअघि नै जेल परेका छन् । भक्तपुरको मुद्दामा उनीहरू पक्राउ परेकोमा जेल चलान भएका थिए । काठमाडौंमा पनि उनीहरूलाई प्रतिवादी बनाइएको छ ।
१९ जनालाई प्रतिवादी बनाइएकोमा १२ जना फरार छन् । जसमा सुशील बानियाँ, तेजबहादुर तामाङ, राजु शाखकर्मी, दीपकबहादुर ऐर, लीलानाथ गौतम, भोजराज पौडेल, सुदर्शन कपाली, प्रदीप भट्टराई, त्रिचन्द्र सुवेदी, कुमार श्रेष्ठ, शमिना श्रेष्ठ र बालमुकुन्द कपाली छन् । बाँके स्थायी घर भएका शर्माले सहकारीका पैसा निजी कम्पनीमा लगानी गरी सहकारी संस्था डुबाएका हुन् । शर्मालाई सिआइबीले गत १२ असारमा भारतको मुम्बईबाट पक्राउ गरी नेपाल ल्याएको थियो ।

शर्माका विभिन्न कम्पनीको नाममा सम्पत्ति रहेको र त्यसलाई रोक्का राखेको सिआइबीले जनाएको छ । उपत्यकाका शाखाको हकमा सिआइबी र उपत्यकाबाहिरको सम्बन्धित जिल्ला प्रहरी कार्यालयले अनुसन्धान गरिरहेको छ ।

०७० मा स्थापना भएको सहकारीले अन्य सहकारीभन्दा धेरै ब्याज दिएर निक्षेप संकलन सुरु गरेको थियो । पैसा संकलनसँगै कृषिसम्बन्धी व्यवसायमा लगानी गर्दै गयो । देशभरि शाखा पनि विस्तार गर्दै गयो । मार्टदेखि जग्गा कारोबारसम्म लगानी गरेको पाइएको छ ।

शिखरदीप सहकारीलाई समेत मर्ज गरेपछि संस्था अझै ठूलो भयो । जब कोभिड महामारी सुरु भयो, त्यसपछि सहकारीमा समस्या आउन सुरु भएको हो । लगानी गरेको ठाउँबाट ब्याज त आएन नै, साँबा पनि फिर्ता भएन । सहकारीमा एकैपटक पैसा निकाल्ने बढ्न थाले । फिर्ता दिने पैसा नभएपछि सहकारीमै ताला लागेको हो । पूर्वअध्यक्ष शर्मा भारत भागेका थिए ।

उपत्यकाको हकमा सिआइबीले अनुसन्धान गरेकोमा अन्य जिल्लामा सम्बन्धित जिल्ला प्रहरी कार्यालयले अनुसन्धान गरिरहेको छ । सो सहकारीले ३६ वटा शाखा कार्यालयबाट करिब १४ अर्ब रुपैयाँ ठगी गरेको सिआइबी निष्कर्ष छ ।