August 17th, 2023

छुट्टै वित्तीय सहकारी ऐन ल्याउन माग

बैंकिङ खबर/ नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कुन) ले छुट्टै वित्तीय सहकारी ऐन ल्याउन माग गरेको छ।नेफ्स्कुनको ३६औं स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा सो संस्थाले सहकारी क्षेत्रलाई थप व्यवस्थित बनाउन छिटो ऐन ल्याउन सो माग गरेको हो।

नेफ्स्कुनका अध्यक्ष परितोष पौड्यालले वित्तीय सहकारी ल्याउने विषयमा पटकपटक पहल भए पनि ल्याउन नसक्दा सरकारी क्षेत्रमा समस्या भएको बताए। वित्तीय सहकारी अभियानको अवको यात्रा सुशासन र सुरक्षा भएको उनको भनाइ छ। उनले भने, ‘सहकारी क्षेत्रमा अग्रसर सबैले आ–आफ्नो सहकारी संस्था, सहकारी सिद्धान्त र मूल्य मान्यतालाई आत्मसाथ गरी स्वनियमनमा रही सञ्चालन गर्नुपर्दछ।’

उनले ढिलै भएपनि नेपालको सहकारी क्षेत्रमा स्थरीकरण कोषको अवधारणाले मूर्तरुप लिएको बताए। नेपालको नयाँ सहकारी ऐन, २०७४ मा स्थिरीकरण कोषसमबन्धी व्यवस्था गरिएको छ। नेपालको संविधान, २०७२ को धारा ५० उपधारा (३) मा ‘शोषणरहित समाजको निर्माण गर्न राष्ट्रिय अर्थतन्त्रलाई आत्मनिर्भर, स्वतन्त्र तथा उन्नतिशील बनाउँदै समाजवाद उन्मुख स्वतन्त्र र समृद्ध अर्थतन्त्रको विकास गर्ने राज्यको आर्थिक उद्देश्य हुनेछ’ भनी उल्लेख गरिएको छ।

सो अवसरमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गोकर्णमणि दुवाडीले वित्तीय सहकारी अभियानलाई सार्थक बनाउँदै थप उचाइमा पुर्‍याउन सो क्षेत्रका सरोकारवाला व्यक्ति नै सक्रिय हुनुपर्नेमा जोड दिए।

राष्ट्रिय सहकारी महासंघका निवर्तमान अध्यक्ष केशवप्रसाद बडालले सहकारीको विश्व सञ्जाल र नेपालको सहकारी अभियानलाई समन्वय गरी अगाडि बढ्नुपर्ने बताए।

 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]