Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

पुनरुत्थानको बाटोमा नेपाल फाइनान्सः सेवा प्रवाहमा अब्बल बन्दै

२०८० श्रावण २६ गते

बैंकिङ खबर/ नीजि क्षेत्रको लगानीमा २०४९ सालमा स्थापना भएको नेपालको पहिलो फाइनान्स नेपाल फाइनान्स लिमिटेड यतिबेला आफुलाई पुनरुत्थानको बाटो लगेको छ ।  राष्ट्र बैंकले २०७१ सालमा नेपाल फाइनान्सलाई समस्याग्रस्त घोषणा गरेको थियो । संस्थागत सुशासनको चरम अभावका कारण संस्थाले प्रवाह गरेको ठूलो परिणामको कर्जा उठ्न नसकेपछि नियामक निकाय राष्ट्र बैंकले कारबाही गरेको थियो ।

राष्ट्र बैंकले २०७० पुस मसान्तको अपरिष्कृत वित्तीय विवरणको आधारमा राष्ट्र बैंकले स्थलगत निरीक्षण प्रतिवदेनअनुसार कारवाही गरेको थियो । त्यसबेला फाइनान्सको पुँजी कोष ४.३६ प्रतिशतले ऋणात्मक, निष्क्रिय कर्जा ५४.१८ प्रतिशत पुगेको थियो ।

२०७० असार मसान्तमा २२ करोड चुक्ता पुँजी पुर्‍याउनु पर्नेमा १३ करोड ५८ लाख रुपैयाँमात्रै थियो । संस्थाका संस्थापक र लामो समयसम्म कार्यकारी प्रमुख रहेका रविचन्द्रमान प्रधान, उनको परिवार र उनीसँग सम्बन्धित व्यक्ति तथा संस्थाको नाममा ३६ प्रतिशतभन्दा बढी सेयर स्वामित्व भेटिएको थियो ।

एउटै ग्राहक, फर्म, कम्पनी वा आपसी सम्बन्ध भएका ग्राहकहरुको समूहलाई राष्ट्र बैंकको निर्देशन विपरीत प्राथमिक पुँजीको २५ प्रतिशतभन्दा बढी कर्जा प्रवाह गरेको थियो ।

यस्ता खालका कैफियतहरु देखिएपछि राष्ट्र बैंकले राष्ट्र बैंक ऐन, २०५८ को दफा ६ (ख) बमोजिम समस्याग्रस्त वित्तीय संस्था घोषणा किन नगर्ने भनी २०७१ असार २७ मा संस्थालाई स्पष्टीकरण सोधिएको थियो । तर, चित्तबुझ्दो जवाफ नआएपछि संस्थालाई समस्याग्रस्त संस्थाको सूचीमा राखेको थियो ।

राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गर्दै संस्थालाई एक दर्जन निर्देशन दिएको थियो । बैंकको निर्देशन बमोजिम चुक्ता पुँजी तथा पुँजीकोष अनुपात कायम गर्न, थप निक्षेप संकलन नगर्न तथा परिपक्व भएका निक्षेपहरु नवीकरण नगर्न, थप कर्जा तथा जमानत प्रदान नगर्न, भाखा-म्याद पुगेका एवं फिर्ता भुक्तानी गर्नुपर्ने निक्षेप फिर्ता गर्न । तर, २ लाखभन्दा बढी निक्षेप वा दाियत्व रकम भुक्तानी गर्दा बैंकको स्वीकृति लिन, नयाँ शाखा नखोल्न, बैंकको स्वीकृति बिनास्थिर सम्पत्ति खरिद बिक्री नगर्न, लाभांश घोषणा वा वितरण नगर्न र निष्कृय कर्जाको अनुपात ५ प्रतिशतभन्दा कम गर्न लगायतका निर्देशन राष्ट्र बैंकले दिएको थियो ।

समस्याग्रस्त घोषणा भएपछि फाइनान्सलाई राष्ट्र बैंकको टिमले व्यवस्थापनको जिम्मा लिएको थियो । राष्ट्र बैंकले नै त्यसपछि नयाँ लगानीकर्ता भित्र्याएको थियो । त्यसपछि राष्ट्र बैंकले नेपाल फाइनान्सलाई समस्याग्रस्त संस्थाको सूचीबाट हटाएको थियो । यसरी समस्याग्रस्त संस्थाबाट मुक्त भएको नेपाल फाइनान्स हालसम्म पुनरुत्थानको चरणमा छ भने सेवा प्रवाहमा अब्बल बन्दै गएको छ ।

सीइओ उद्धवराज थपलियाको टिमले सम्हालेपछि

नयाँ लगानीकर्तासँगै नेपाल फाइनान्सको प्रमुख कार्यकारी अधिकृत (सीइओ)मा उद्धवराज थपलिया नियुक्त भएका थिए । थपलिया बेस्ट फाइनान्स (साविकको जनरल फाइनान्स)मा आवद्ध थिए ।

बेस्ट फाइनान्सलाई पनि राष्ट्र बैंकले समस्याग्रस्त संस्थाको सूचीमा रोखेको थियो । थपलियाले नै साविकका जनरल फाइनान्स र सिनर्जी फाइनान्सलाई मर्ज गराई बेस्ट फाइनान्स बनाएका थिए ।

थपलियाले बेस्ट फाइनान्समा करिब २ वर्ष काम गरेपछि नेपाल फाइनान्समा भित्रिएका थिए । थपलिया नेतृत्वको टोलीले नेपाल फाइनान्सलाई मजबुद बनाउँदै लगेको छ ।

१८.४२ प्रतिशत बढ्यो ब्याज आम्दानी

नेपाल फाइनान्सले गत वर्ष कर्जा र निक्षेप दुवै बढाएको छ । गत असारसम्म फाइनान्सले निक्षेप संकलन १२.१५ प्रतिशत बढाएर १ अर्ब ६५ करोड ३२ लाख रुपैयाँ गरेको छ । यस्तै, कर्जा लगानी ३२.०७ प्रतिशत बढाएर १ अर्ब २९ करोड ५१ लाख रुपैयाँ गरेको हो ।

फाइनान्सको खराब कर्जा (एनपीएल)पनि घटेको छ । अघिल्लो वर्ष खराब कर्जा १४.०७ प्रतिशतबाट रहेकोमा घटेर १२.१६ प्रतिशतमा झरेको छ । यस्तै, समीक्षा अवधिमा फाइनान्सको चुक्ता पूँजी ०.२९ प्रतिशत बढेर ७२ करोड ७५ लाख रुपैयाँ र जगेडा कोष ३ प्रतिशत घटेर ४२ करोड ८७ लाख ७३ हजार रुपैयाँ रहेको छ ।

गत आर्थिक वर्षको असार मसान्तसम्ममा फाइनान्सको खुद ब्याज आम्दानी १८.४२ प्रतिशत बढेर ९ करोड १४ लाख रुपैयाँ गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा फाइनान्सले ७ करोड ७२ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

फाइनान्सको गत आर्थिक वर्षको चौथो त्रैमाससम्म खुद नाफा भने ४७.१३ प्रतिशत घटेर २ करोड ५६ लाख रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा फाइनान्सले ४ करोड ८५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

फाइनान्सको खुद फि तथा कमिशन आम्दानी १८.०१ प्रतिशत घटेर ७१ लाख ८८ हजार रुपैयाँ, कुल सञ्चालन आम्दानी ०.२२ प्रतिशत घटेर ११ करोड २७ लाख रुपैयाँ, सञ्चालन नाफा ५१.२९ प्रतिशत घटेर २ करोड ५४ लाख रुपैयाँ र वितरणयोग्य मुनाफा २१ करोड ३ लाख रुपैयाँ ऋणात्मक रहेको छ ।

फाइनान्सको प्रतिसेयर आम्दानी ३.५३ रुपैयाँमा सीमित भएको छ । फाइनान्सको मूल्य आम्दानी अनुपात ९९.४३ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १३७.४ रुपैयाँ रहेको छ । फाइनान्सको कस्ट अफ फण्ड ९.८८ प्रतिशत, आधार दर १४.३७ प्रतिशत, स्प्रेड दर ४.५७ प्रतिशत र सीडी रेसियो ७९.७२ प्रतिशत रहेको छ ।

सेवा प्रवाहमा अब्बल बन्दै

नेपाल फाइनान्सले आफुलाई समायानुकुल परिवर्तन गर्दै लगेको छ । यस फाइनान्सले सेवा प्रवाहमा विभिन्न प्रविधिहरु भित्र्याएको छ । जसले सेवाग्राहीलाई सहज भएको छ ।

नेपाल फाइनान्सले आफ्ना ग्राहकहरुलाई मध्येनजर राख्दै एसएमएस बैंकिङ सेवा, रेमिट्यान्स सेवा, डेबिट कार्ड, मोबाइल बैंकिङ, आइपिएस जडान, इ–भुक्तानीसेवा, पेमेन्ट, एबीबीएस सुविधाहरु प्रदान गर्दै आएको छ । यस्तै नेपाल फाइनान्समापनि अनलाइनबाटै एकाउन्ट खोल्न सकिने व्यवस्था गरिएको छ ।

यस्तै फाइनान्सको नारी बचत खाता, बाल बचत खाता, नर्मल सेभिङ खाता विशेष खाताको रुपमा सञ्चालनमा रहेका छन् । कमलादी, काठमाडौंमा मुख्य कार्यालय रहेको यस फाइनान्सको देशभर १२ वटा शाखा र उपत्यकाभित्र २ वटा एक्सटेन्सन काउन्टरबाट सेवा प्रवाह गरिरहेको छ ।

‘गुणस्तरमा वृद्धि गर्दै लैजाने योजनामा छौं’

उद्धवराज थपलिया

प्रमुख कार्यकारी अधिकृत(सीईओ)

आगामी दिनहरुमा हामी संस्थाको सम्पतिको गुणस्तरमा अझै वृद्धि गर्दै लैजाने योजनामा छौं । हाम्रो सिमाभित्र, क्षेत्रभित्र रहेर हामी आक्रमक रुपमा जानेछौं । नयाँ शाखा विस्तार, साना साना कर्जाहरु लैजाने, नयाँ–नयाँ योजनाहरु ल्याउने, कर्मचारीहरुको तालिमको व्यवस्था गर्ने योजनामा छौं ।

समस्याबाट उठेको संस्था हो भन्ने हिसाबले जनमानसमा देखाउनेछौं । साख वृद्धि गर्नेछौं । नियमनकारी निकायलाई पनि संस्था राम्रो बाटोमा गइराखेको छ है भन्ने बनाउने छौं । यसमा संस्थागत सुशासनको पूर्ण पालना भएको छ भन्नेखालको प्रत्याभूती दिनेछौं । हामीले जे जे गर्नुपर्ने हो । त्यो चिजमा हामी आक्रामक रुपमै जान्छौं । हाम्रो लिमिटेशनभित्र रहेर हामी अगाडि बढ्छौं ।

डिजिटलाइजेशनको कुरा गर्दा कर्मसियल बैंकहरु जसरी गएका छन् । हामी पनि त्यहि अवस्थामा गएका छौं । कर्मसियल बैंकहरुले डेविट, एटिमएम कार्डहरु धेरै थपेका होलान । तर हामीसँग पनि कमर्सियल बैंकको जस्तै एम वालेटहरु, एम बैंकिङहरु र इन्टरनेट बैंकिङ सेवाहरु छन् । हामीसँग सबै प्रोडक्टहरु छन् । कनेक्ट आइपीएस, इसीसी, आइएपीसका कामहरु पनि राम्रोसँग भएको छ ।