Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

१० करोडभन्दा बढी कारोबार गर्ने सहकारीलाई तत्काल गोएएमएलमा जान विभागकाे निर्देशन

२०८० श्रावण २२ गते

बैंकिङ खबर/सहकारी विभागले बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थाहरूलाई अबिलम्ब गोएएमएलमा दर्ता हुन निर्देशन दिएको छ । सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ र सो अन्तर्गत बनेका नियमावलीको प्रभावकारी कार्यान्वयनका लागि विभागले सोमबार एक परिपत्र जारी गर्दै तत्काल गोएएमएलमा दर्ता हुन सहकारी संस्थालाई निर्देशन दिएको हो ।

हाल सहकारी संस्थालाई लक्षित गरेर सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी निर्देशन, २०७४ कार्यान्वयनमा छ । उक्त निर्देशनको दफा १९ र १० मा सीमा कारोबार प्रतिवेदन र शङ्कास्पद कारोबार प्रतिवेदन तोकिएको ढाँचामा नेपाल राष्ट्र बैङ्कको वित्तीय जानकारी इकाई (एफआईयू) मा पठाउनुपर्ने हुन्छ । यस अनुरूप प्रतिवेदन पठाउँदा १० करोड रुपैयाँभन्दा बढी रकम बचत वा पुँजी भएका बचत तथा ऋणको कार्य गर्ने सहकारी संस्थाहरूले गोएएमएल सिस्टममार्फत पठाउनुपर्ने प्रावधान रहेको छ ।

तर, पटक पटक सचेत गराउँदा समेत सहकारी सङ्घ संस्थाहरूले अटेर गरेको भन्दै विभागले पुनः निर्देशन जारी गरेको हो । १० करोड रुपैयाँ भन्दा बढी रकमको कारोबार गरेका (बचत वा पुँजी भएका) बचत तथा ऋणको कार्य गर्ने सहकारी सङ्घ/संस्थाहरुलाई नेपाल राष्ट्र बैङ्कको वित्तीय जानकारी इकाई (एफआईयू) मा रहेको गोएएमएल सिस्टमको टेस्ट इन्भारोमेन्ट तथा प्रोडक्सन इन्भारोमेन्ट मा रजिष्टर्ड भइ वेव/एसएमएलमार्फत सीमा कारोबार प्रतिवेदन, शङ्कास्पद कारोबार प्रतिवेदन र शङ्कास्पद गतिविधि प्रतिवेदनका विवरणहरू प्रणालीमार्फत प्रेषित गर्न विभागले निर्देशन दिएको छ ।