Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

जिडीपीमा कृषिको योगदान बढाउने ‘उपाय’   

२०७३ कार्तिक २२ गते

agricultureनवराज कुँवर – द्धन्द्धका बाजजुद इजरायलको प्रगति अनुशरण गर्न लायक छ । कृषिको क्षेत्रमा इजरायलले गरेको प्रगति हेर्न विश्वभरिका मानिसहरु त्यहाँ पुग्ने गरेका छन् । हाम्रो नेपालमा कृषि सम्बन्धी कुनै बहस सुरु भयो भने इजरायली कृषिको प्रशंग निश्चित रुपमा जोडिन्छ । इजरायलबाट धेरै सिक्न सकिने धारणाहरु अवश्य आउँछन् । तर अफशोस, विद्यमान अवस्थामा हामी इजरायली जस्तो पुर्ण पहुँचमा छैनौँ । सबै कुरा देखेर सिकेर पनि नेपालमा त्यो ज्ञानको पुर्ण सदुपयोग गर्न सक्दैनौँ । किनभने हामीसँग आधुनिक कृषि सामाग्री, नयाँ–नयाँ खोज तथा अनुसन्धान, प्रभावकारी सरकारी नीति र वातावरणको अभाव कायमै छ । यद्यपी हामीले इजरायलबाट केही सामान्य तर अति प्रभावकारी प्रणालीहरुको अनुशरण गर्न सक्छौँ । जस्तो थोपा सिचाई । इजरायलमा हेर्ने हो भने थोपा सिँचाईको भूमिका नगन्य छन् । त्यहाँको सुख्खा र खैरो माटोमा रोपिएका हरिया र लटरम्म उत्पादन देख्दा नै थाहा हुन्छ, किन र के का लागि थोपा सिँचाई । 
 
त्यहाँ (इजरायल)मा पानी निकै महंगो मानिन्छ । खेतीका लागि नेपालमा जस्तो नदी या खोला त्यहाँ कहीँ कतै छैन । पानीको अभावका बाबजुद आज इजरायलीले आफ्नो देशलाई कृषिजन्य सामाग्री तथा खाद्यान्न निर्यातक देशहरुको अग्रपंक्तिमा उभ्याउन सफल भएका छन् । एकदमै थोरै पानीलाई सदुपयोग गरी लामो समयसम्म थोपा–थोपा गरी विरुवाको जरामा पानी दिइने एउटा वैज्ञानिक र सहज सिँचाई पद्धति थोपा सिँचाई हो । त्यहाँ विरुवा रोपिएको टनेलमा दुइ वा तीन लाईन पाइप विछ्याईएको हुन्छ । विरुवाको जरामा पानी जाने गरी पाइपमा प्वाल पारिएको हुन्छ । जो प्वालबाट झरेको पानीले विरुवालाई पुरै समय चिस्यान माटोमा हुर्किन र फल्न मद्दत पुर्याउँदछ । 

खासगरी नगदे बाली वा लहरे बाली खेतीका लागि यो सिँचाइ पद्धति अत्यन्तै महत्वपूर्ण मानिन्छ । यद्यपी अन्य बालीमा समेत यसको भूमिका कमजोर भने हुँदैन । इजरायलमा अधिकांश खेतीका लागि थोपा सिचाईको भूमिका मुख्य देखिन्छ । जस्तो टमाटर, बेजिल (तुलसी), मसला, साग, गाँजरलगायतका धेरै बालीका लागि थोपा सिँचाईकै भूमिका प्रमुख छ । त्यहाँ त पानी निकै महंगो छ ।

उदाहरणका लागि टमाटर खेती गर्दा कुन तरिकाले थोपा सिँचाई पद्धति अपनाउने ? टमाटरको लागि अपनाइने प्रणाली लगभग सबै खेतीका लागि मिल्छ । 
 
टमाटर रोप्नुअघि नै ग्रीन हाउसभित्र झण्डै तीन फीट चौडाईका टनेल लाइन बनाइन्छ । त्यो लाईन साविक जमीनभन्दा १ फिटजति उच्च बनाइएको हुन्छ । जसको कारणले पाइपबाट चुहिएको पानी विरुवाकै लागि विशेषरुपमा उपलब्ध हुन्छ । सुख्खा माटोलाई सम पार्ने काम हुन्छ । त्यसपछि पोलोथेलिनको पाइपलाई दुइ लाइनमा वारपार गरी विछ्याइन्छ । अब लाइनमा हरेक एक बित्ताको फरकमा प्वाल पारिन्छ र ल्यावमा तयारी अवस्थामा राखिएको विरुवालाई ल्याएर रोपिन्छ । पाइपको प्वाल भने पाइप कम्पनिले नै पारिदिन्छ । विरुवा रोप्नुअघि नै पाइपको प्वाल र टमाटरको विरुवा रोपिने प्वाललाई मिलाइन्छ अर्थात पानी चुहिन प्वालकै छेउमा टमाटरको विरुवा रोपिने प्वाल पारिन्छ । जसले गर्दा अब पाइपको प्वालबाट चुहिने पानी सिधै विरुवाको जरामा पुग्छ र विरुवालाई पानीको कमी हुन दिँदैन । 

नेपालमा थोपा सिँचाई
नेपालमा त ६ हजार वटा जति नदीनालाहरु नै छन् भने १ सयवटा त ठूला नदीेहरु नै छन् । नेपालमा धेरै जसो खोलानालाहरु कृषि क्षेत्रलाई फाइदा पुर्याउने संभाव्य छन् । तर पनि हामीसँग वैज्ञानिक उपकरण र आधुनीक कृषि सामग्रीको अभाव भएका कारण भइराखेका स्रोत साधनहरुबाट समेत फाइदा लिन सकिरहेका छैनौँ । विद्यमान अवस्थामा आधुनिक र बैज्ञानिक कृषि उपकरणको उपलब्धता नेपालका लागि त्यति सहज पनि देखिदैन । त्यसैले यतिबेला हाम्रो लागि थोपा सिँचाई उच्चतम विकल्प हुन सक्छ । नेपालको तराई भेगलाई अन्नको भण्डार भनिन्छ । तर त्यहाँको ४० प्रतिशतभन्दा बढि खेतियोग्य भूमि पानीको अभावमा बाँजो छ । हामीसँग पानी नभएर समस्या भएको हैन, पानी व्यवस्थापन गर्न नजानेर समस्या भएको हो । त्यसैले थोपा सिँचाईको माध्यमबाट पानीको अभाव हुने ठाउँमा यसको पहुँच पु¥याउने हो भने हामीले कृषिमा केही फड्को मार्न सक्छौँ । नेपालमा ठूला–ठूला ग्रीन हाउस र टनेल त सबैमा सम्भव नहोला तर प्रकृतिले दिएको सुलभताको भने हामीले सदुपयोग गर्नैपर्दछ । थोपा सिँचाईको माध्यमबाट नेपालमा लौका, काक्रा, घिरौला, टमाटर, मुलालगायतका धरै खेती गर्न सकिन्छ । लहरे खेती प्राय बेमौसममा गर्दा बढि फाइदा लिन सकिन्छ । बेमौसममा गर्दा बजारको समस्या केही हदसम्म हल हुनेछ । तर बेमौसममा लहरे बालि तरकारी खेती गर्नको लागि मौसममा भन्दा अलि बढी मेहनत गर्नुपर्ने हुन्छ । 

हामीले नेपालमा सरल थोपा सिंचाईमा बिरुवा रोप्नको लागि बारीको तयारी गर्दा बिरुवादेखि बिरुवाको दुरी ६० से.मी. तथा लाइन देखि लाइनको दुरी झण्ड १ मिटर राख्नु पर्दछ । बिरुवा रोप्नु भन्दा अगाडी ठाउँको तयारी आबश्यक हुन्छ । रोप्ने ठाउँको तयारी गर्दा हामीले २ तरिकाबाट ठाउँको तयारी गर्न सकिन्छ । पहिलो तरिकामा १ फिट गहिरो १ फिट चौडा कुलेसो आकारमा खन्ने र राम्रोसँग पाकेको गोबर मल र डी. ए. पी १ सय ८० ग्राम र पोटास १ सय २० ग्राम कुलेसोमा राखी माटोमा मिलाएर बिरुवा रोप्न सकिन्छ भने अर्को तरिकामा १ फिट लम्बाई १ फिट चौडाई र १ फिट गहिराईको खाडल खनेर १५ ग्राम डि. ए. पी. १० ग्राम पोटास र बाँकी पाकेको गोबर मल माटोमा मिलाई बिरुवा रोप्न सक्छौँ । सकेसम्म कम्पोष्ट मलमा जोड दिँदा अति उत्तम हुन्छ ।

यसरी बिरुवा रोपेपश्चात थोपा सिंचाईको लाइनिङ पाइपलाई मिलाएर जोडिदिने अनि ड्रममा पानी राखी हरेक बिरुवामा पानी चुहिएको छ वा छैन हेरिरहने गर्नुपर्दछ । यो हाम्रो बारीमा सामान्य रुपमा थोपा सिचाईको शुरुवात गर्ने तरीकामात्रै हो । यद्यपी हामी यसलाई व्यवसायिक रुपमा विकास गर्न सक्छौँ । पानी भने जमीन मुनिको प्रयोग गर्न सकिन्छ ।

इजरायलमा पानी फर्टीलाइजेसनका क्रममा नै विरुवाका लागि चाहिने मल तथा भिटामीनको मिश्रण गरिएको हुन्छ । हामीले पनि विज्ञको सल्लाह र माटोको क्षमता हेरेर त्यसो गर्न सक्छौँ । हाम्रो जस्तो गरिब मुलुकका लागि थोपा सिचाई प्रणाली फावसिद्ध हुन सक्छ । हामीसँग भएका हजारौँ नदीनालाको सदुपयोग गर्न हामी चुकिरहेका छौँ । पानी नभएर हैन हामीसँग भएका स्रोत साधनको सदुपयोग गर्न नसकेर सिचाई समस्या भएको हो । केही हदसम्म त्यो समस्याको विकल्पका रुपमा सरल थोपा सिचाईलाई लिन सकिन्छ । यसको विकास र विस्तारका लागि राज्यले एउटा प्रभावकारी नीति र वातावरणको सृजना गर्न सक्नुपर्दछ । त्यहीँ छिमेकी भारतमा थोपा सिचाईको प्रणाली भित्र्याएर साविकको तुलनामा कैयौँ गुणा फाइदा लिइरहेको छ । हामीसँग भएको पानीको त हामी सदुपयोग गर्न चुकिरहेका छौँ नै तर अब जमिनमुनि भएको पानी वा कृषि क्षेत्रलाई सहज रुपमा सहयोग पु¥याउन सक्ने स–साना नदीनालाको पानीको पनि सदुपयोग गर्न अब पनि चुक्यौँ भने हामी अझै पछि पर्ने छौँ । पानीको उचित व्यवस्थापन भनेको भूमिको व्यवस्थापन हो । भूमिको व्यवस्थापन भनेको ७५ प्रतिशत कृषकको समस्याको व्यवस्थापन वा सम्बोधन हो ।