
बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले १७ अर्ब ७० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्रीका लागि बोलकबोल आह्वान गरेको छ । परिपक्व अवधि सकिएका ट्रेजरी बिल पुनः बिक्रीका लागि राष्ट्र बैंकले बोलकबोल आह्वान गरेको हो ।
जसअनुसार १० अर्ब रुपैयाँको २८ दिने र ७ अर्ब ७० करोड रुपैयाँ बराबरको ९१ दिने ट्रेजरी बिलका लागि बोलकबोल मागिएको छ । ट्रेजरी बिलका लागि राष्ट्र बैंकले सोमबार (साउन १ गते) दिउँसो ३ बजेसम्म बोलकबोल गर्न आग्रह गरेको छ । मंगलबार ट्रेजरी बिल जारी (वितरण) गरिनेछ ।
चालु आर्थिक वर्षमा सरकारले नयाँभन्दा परिपक्व अवधि पूरा भएका पुराना ट्रेजरी बिल पुनः बिक्री गरिरहेको छ । जसअनुसार यसअघि राष्ट्र बैंकले आहृवान गरेकोमध्ये धेरै पुरानो र थोरैमात्र नयाँ ट्रेजरी बिल बिक्री गर्दै आएको थियो । यसपटक भने आह्वान गरेजति सबै पौने १८ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल नै पुरानो बिक्री गर्न लागेको हो ।
पछिल्लो पटकको बोलकबोलमा ६.३४ प्रतिशत भारित औसत ब्याजदर तय भएको छ । बैंक तथा वित्तीय संस्थाले सबैभन्दा बढी ६.७ प्रतिशत र सबैभन्दा कम २.४९ प्रतिशत ब्याजदरमा बोलकबोल गरेका थिए ।
सरकारले चालु आर्थिक वर्षमा २ खर्ब ५६ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने लक्ष्य तय गरेकामा गत शुक्रबारसम्म २ खर्ब ५५ अर्ब ९९ करोड ७७ लाख रुपैयाँ उठाइसकेको छ । जसअनुसार चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ३० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाएको सरकारले तेस्रो त्रैमासमा थप ८८ अर्ब रुपैयाँ र चौथो त्रैमासमा १ खर्ब ५६ अर्ब रुपैयाँ उठाएको हो ।




