बैंकिङ खबर/चालु आर्थिक वर्ष २०७९/८० को ११ महिनामा वाणिज्य बैंकहरूको अन्तरबैंक कारोबार ३९ खर्ब रहेको छ । नेपाल राष्ट्र बैंकका अनुसार ३६ खर्ब ४० अर्ब २१ करोड रुपैयाँ र अन्य वित्तीय संस्था (वाणिज्य बैंकबीच बाहेक) को तीन खर्ब २१ अर्ब १७ करोड गरी कुल ३९ खर्ब ६१ अर्ब ३८ करोडको अन्तरबैंक कारोबार भएको छ ।
अघिल्लो वर्षको सोही अवधिमा वाणिज्य बैंकहरूको २५ खर्ब ७६ अर्ब ६० करोड र अन्य वित्तीय संस्थाको दुई खर्ब ९८ अर्ब ९१ करोड गरी कुल २८ खर्ब ७५ अर्ब ५१ करोडको अन्तरबैंक कारोबार भएको थियो ।
मौद्रिक नीतिको सञ्चालन लक्ष्यका रूपमा लिइने औसत अन्तरबैंक ब्याजदर २०८० जेठमा ६.६९ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो ब्याजदर ७.०० प्रतिशत रहेको थियो ।
वाणिज्य बैंकहरूको औसत आधारदर २०७९ जेठमा ९.३९ प्रतिशत रहेकोमा २०८० जेठमा १०.१८ प्रतिशत कायम भएको छ । २०८० जेठमा वाणिज्य बैंकको निक्षेपको भारित औसत ब्याजदर ७.९९ प्रतिशत र कर्जाको भारित औसत ब्याजदर १२.५३ प्रतिशत रहेको छ ।