
बैंकिङ खबर/असार शुरु भएपछि बैंकिङ प्रणालीमा ७१ अर्ब रुपैयाँ निक्षेप थप भएको छ । असार महिनामा सरकारी खर्च बढ्ने भएकाले प्राणालीमा उच्च निक्षेप थप भएको हो । चालु आर्थिक वर्षको असार १ गते बैंकिङ प्रणालीको कुल निक्षेप ५५ खर्ब ६९ अर्ब रुपैयाँ रहेको थियो । उक्त निक्षेप पछिल्ला १९ दिनमा बढेर असार १९ गतेसम्म आइपुग्दा ५६ खर्ब ३० अर्ब रुपैयाँ पुगेको छ ।
यो अवधिमा बैंक वित्तीय संस्थाले ८ अर्ब रुपैयाँ मात्र लगानी गरेको अवस्था छ । असार १ गते बैंक वित्तीय संस्थाको कुल कर्जा लगानी ४८ खर्ब ५४ अर्ब रुपैयाँ लगानी रहेको थियो । असार १९ गते आइपुग्दा ८ अर्बले बढेर ४८ खर्ब ६२ अर्ब रुपैयाँ पुगेको हो ।
सामान्यत सरकारले चालु आर्थिक वर्षको अन्तिम महीनामा धेरै खर्च गर्ने भएकाले बैंकिङ प्रणालीमा निक्षेप तुलनात्मक रुपमा बढी निक्षेप थपिन्छ । असार महीनाका पछिल्ला २० दिनमा सरकारले १ खर्ब ७० अर्ब ५ करोड ३२ लाख रुपैयाँ खर्च गरेको छ । यसमध्ये १ खर्ब १६ अर्ब ५८ करोड ९९ लाख रुपैयाँ चालु खर्च गरेको छ भने ३६ अर्ब १४ करोड रुपौयाँ मात्र पुँजीगत खर्च भएको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ ।
चालु आर्थिक वर्षको असार २० गतेसम्म सरकारले लक्ष्यको ७१.९९ प्रतिशत खर्च गरेको छ । त्यसमा चालु खर्च लक्ष्यको ८०.८२ प्रतिशत रहेको छ भने पुँजीगत खर्च ४६.४१ प्रतिशत रहेको छ ।
गत आर्थिक वर्षको सोही अवधिमा सरकारको कुल खर्च लक्ष्यको ६२.५१ प्रतिशत रहेको थियो । चालु खाता खर्च लक्ष्यको ७०.९१ र पुँजीगत खर्च लक्ष्यको ३६.९१ प्रतिशत रहेको थियो ।
त्यसैगरी पछिल्ला ८ आर्थिक वर्षमा बैंकहरुको निक्षेपलाई हेर्दा असार महिनामा नै सबैभन्दा धेरै भएको देखिन्छ । आर्थिक वर्ष २०७२-७३ मा १ खर्ब ३८ अर्ब, २०७३-७४ मा १ खर्ब २३ अर्ब, २०७४-७५ मा १ खर्ब १ अर्ब, २०७५-७६ मा १ खर्ब १९ अर्ब, २०७६-७७ मा २ खर्ब ११ अर्ब, २०७७-७८ २ खर्ब १० अर्ब, २०७८-७९ मा १ खर्ब ४१ अर्ब रुपैयाँ निक्षेप थपिएको थियो । यो तथ्याङ्कलाई हेर्दा पनि आर्थिक वर्षको अन्तिम महीनामा बैंकिङ प्रणालीमा धेरै निक्षेप थप हुने गरेको देखिन्छ ।
चालु आवको असार १९ गतेसम्ममा वाणिज्य बैंकहरुको कुल निक्षेप ४९ खर्ब ७२ अर्ब रहेको छ । सो अवधिमा बैंकहरुको कुल कर्जा ४३ अर्ब ३ अर्ब रुपैयाँ पुगेको राष्ट्र बैंकले जनाएको छ । असार महीनाको १९ दिनमा वाणिज्य बैंकहरुमा मात्रै ६० अर्ब निक्षेप थपिएको छ भने ५ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् । सो अवधिमा अन्य वित्तीय संस्थाको कुल निक्षेप ६ खर्ब ५८ अर्ब रहेको छ । त्यसैगरी कर्जा लगानी ५ खर्ब ५९ अर्ब रहेको केन्द्रीय बैंकले जनाएको छ ।




