
बैंकिङ खबर/नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कुन) का अध्यक्ष परितोष पौडेलले सहकारी ऐनको कार्यान्वयन आजको सबैभन्दा ठूलो चुनौति बनेको बताए । सहकारीमा आजको अवस्था सिर्जना हुनुमा २०७४ सालमा आएको ऐन प्रभावकारी ढंगले कार्यान्वयन नहुनु रहेको उनले बताए । काठमाडौंमा आयोजित एक अन्तरक्रियामा उनले बचतकर्ता स्वयंले बचत सुरक्षाको प्रत्याभूति दिन आवश्यक रहेको बताए ।
संस्थाको स्वामित्व, नियन्त्रण र फाइदाबारे सदस्य स्वयम् सचेत हुन आवश्यक रहेको उनको भनाइ छ । उनले अहिले मनोवैज्ञानिक ढंगले सहकारी संस्थाप्रति अविश्वासको वातावरण सिर्जना भएको बताए । ‘मनोवैज्ञानिक ढंगले संस्थाप्रति अविश्वास सिर्जना भएको छ ।
सञ्चालक समितिको निर्दिष्ट आचरणको समस्या होला एकातिर, अर्कोतिर त्योभन्दा द्रुत्ततर ढंगले सदस्यहरुको विश्वासमा समस्या सिर्जना भएको छ । सदस्यहरुको विश्वास र सञ्चालक समितिको निर्दिष्ट आचरणलाई जोड्ने काम सरकारले गर्नुपर्छ, हामीले गर्नुपर्छ,’उनले भने । उनले सहकारी बिग्रिँदा नेपालको अर्थव्यवस्था प्रणाली धरापमा पर्ने बताए । केही सहकारीको अवाञ्छित क्रियाकलापले सिंगो सहकारीमा समस्या र अविश्वासको वातावरण सिर्जना भएको उनको ठम्याई छ ।


