July 3rd, 2023

अब सहकारी संस्थामा हिनामिना गर्ने व्यक्ति चुनाव लड्न नपाउने

बैंकिङ खबर/निर्वाचन आयोगले सहकारी संस्थामा रहेर हिनामिना गरेको व्यक्तिलाईसमेत उम्मेदवार हुनबाट रोक्न प्रस्ताव गरेको छ । ‘निर्वाचनसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’मा यस्तो प्रस्ताव गरिएको हो।

प्रस्तावित विधेयकमा उम्मेदवारको अयोग्यतासम्बन्धी प्रावधान राख्दै भनिएको छ, ‘कुनै सहकारी संस्थाको सञ्चालक पदमा रही प्रचलित कानुन विपरीत आर्थिक हिनामिना गरी त्यस्तो सहकारी संस्थालाई हानि नोक्सानी पु¥याएको व्यक्ति उम्मेदवार हुन पाउनेछैन।’

यस्तै कुनै स्थानीय तह सदस्यको निर्वाचन भए त्यस्तो स्थानीय तह अन्तर्गतको कुनै ठेक्कामा संलग्न भई मनोनयनपत्र दाखिला गर्नुपर्ने अघिल्लो दिनसम्म पूरा गरिसक्नु पर्नेसमेत उल्लेख छ।

यस्ता छन् अयोग्यता सम्बन्धी व्यवस्था :

–भ्रष्टाचारसम्बन्धी कसुरमा मुद्दा दायर भएको वा सुरु अदालतबाट भ्रष्टाचार ठहर भई पुनरावेदनको रोहमा मुद्दा विचाराधीन रहेको वा भ्रष्टाचार ठहर भई अन्तिम भएको,

–प्रचलित कानुन बमोजिम कुनै कम्पनी वा संस्था कालो सूचीमा रहेकोमा त्यस्तो सूची कायम रहँदाका बखत त्यस्तो कम्पनी वा संस्थाको सञ्चालक, पदाधिकारी वा प्रमुख कार्यकारी अधिकृतको पदमा बहाल रहेको,

–कुनै सहकारी संस्थाको सञ्चालक पदमा रही प्रचलित कानुन विपरीत आर्थिक हिनामिना गरी त्यस्तो सहकारी संस्थालाई हानि नोक्सानी पुर्‍याएको,
–कुनै अदालत, न्यायिक वा अर्धन्यायिक निकायको फैसलाबाट ठहर भएको कैद वा जरिवाना असूल उपर हुन बाँकी भएको वा तिर्नु बुझाउनुपर्ने क्षतिपूर्ति नतिरेको,

–प्रचलित कानुन बमोजिम भुक्तानी गर्नुपर्ने कर भुक्तानी नगरेको

–अन्तिम लेखा परीक्षणबाट रकम असुल गर्नुपर्ने गरी व्यक्तिगत रुपमा बेरुजु कायम भएकोमा त्यस्तो रकम नबुझाएको,

–कुनै स्थानीय तह सदस्यको निर्वाचन भए त्यस्तो स्थानीय तह अन्तर्गतको कुनै ठेक्कामा संलग्न भई मनोनयनपत्र दाखिला गर्नुपर्ने अघिल्लो दिनसम्म पूरा गरिसक्नु पर्ने काम पूरा नगरेको,

– होस ठेगानमा नरहेको,

–संविधानको धारा २९१ बमोजिम अयोग्य भएको,

–संघीय संसद्, प्रदेश सभा वा स्थानीय तहको सदस्य पदमा उम्मेदवार भई पराजित भएको व्यक्ति सोही निर्वाचन क्षेत्र वा तहको उपनिर्वाचन बाहेक त्यस्तो पदको कार्यकाल पूरा नभएसम्म कुनै पनि तहको निर्वाचनमा उम्मेदवार हुन नसक्ने,

–प्रतिनिधि सभा सदस्य वा प्रदेश सभा सदस्यमा समानुपातिक निर्वाचन प्रणालीबाट दुई पटक निर्वाचित भइसकेको व्यक्ति सोही निर्वाचन प्रणालीबमोजिम हुने निर्वाचनमा उम्मेदवार हुन नसक्ने,

–कुनै एक राजनीतिक दलको सदस्य रहेको व्यक्ति त्यस्तो दलको सदस्य पद त्याग नगरी अर्को राजनीतिक दलको तर्फबाट उम्मेदवार हुन नसक्ने,

–स्थानीय तहको सदस्य पदमा निर्वाचित कुनै व्यक्तिको अयोग्यताको सम्बन्धमा सम्बन्धित जिल्ला अदालतमा उजुरी दिन सकिने,

–राष्ट्रपति वा उपराष्ट्रपति संघीय संसद वा प्रदेश सभा सदस्य स्थानीय तहको सदस्य पदको निर्वाचनमा निर्वाचित कुनै व्यक्तिको अयोग्यता सम्बन्धमा उजुरी परेमा सम्बन्धित अदालतले त्यस्तो मुद्दा छ महिनाभित्र कारवाही र किनारा गर्नु पर्ने,


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]