बैंकिङ खबर/ललितपुरको पुल्चोकमा मुख्य कार्यालय रहेको सुमेरु बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक सर्वसाधारणको १० अर्बभन्दा बढी रकम अपचलन गरी विदेश पलायन भएका छन् ।
बचतकर्ताले आफ्नो रकम खोज्न थालेपछि उपचारको बहाना बनाएर परिवारसहित सञ्चालक भारत महर्जन बेलायत पलायन भएका हुन् । २०५७ सालबाट ललितपुरको पुल्चोकमा कार्यालय राखेर सुमेरु सेभिङ एण्ड क्रेडिट सहकारी शुरु भएको थियो ।
महर्जनले ३४ हजार भन्दा बढी बचतकर्ताको रकम आफू र परिवारको नाममा कम्पनी खोल्न र सम्पत्ति जोड्न खर्चिएका थिए ।
महर्जनले व्यक्तिगत र सुमेरु ग्रुप अन्तर्गतका कम्पनीको जग्गा जमिन र सम्पत्ति मात्रै १५ अर्ब ६० करोड रुपैयाँभन्दा धेरै देखिएको छ । कतिपय जग्गाको विवरण आएकै छैन ।
सुमेरुकै नामबाट कालीमाटीमा अर्को सहकारी छ । दुवै सहकारीमा गरी ३४ हजार ७७८ जना बचतकर्ताको १० अर्ब ३४ करोड ७ लाख ३९ हजार ७०२ रुपैयाँ बचत छ ।
यसमध्ये १ अर्ब ९८ करोड ४८ लाख ८९ हजार ५०४ रुपैयाँ मात्रै कर्जा लगानी गरेको रेकर्ड भेटिएको बचतकर्ता तथा सहकारीको सञ्चालक समितिले निकालेको श्वेतपत्रमा उल्लेख छ । बाँकी रकम भने भरत महर्जनका कम्पनी तथा व्यवसायमा मनलाग्दी लगानी भएको छ ।
कालीमाटीको सहकारीमा पनि सुरुमा श्रीमती राजमायालाई अध्यक्ष बनाएका थिए त्यसपछि क्रमशः भान्जा विकास महर्जन र छोरा सचिन महर्जनलाई अध्यक्ष बनाए ।
सञ्चालक समितिका उपाध्यक्ष तथा सुमेरु साकोसका कार्यकारी प्रमुख वीरु महर्जन, भरत महर्जनका भतिज हुन् । सञ्चालकहरू दिलीप डंगोल र सुनिल डंगोल नाताले उनका भान्जा हुन् ।
यस्तै कालीमाटी सहकारीकी सञ्चालक स्वच्छन्दा मानन्धर समेत उनको नजिकको आफन्त हुन् । गट्ठाघर शाखाका प्रबन्धक सरोज महर्जन, भरतको दाइका छोरा हुन् भने सुमेरु साकोस धापाखेलका प्रबन्धक उज्वल महर्जन भान्जा ।
सुमेरु सहकारीका सञ्चालक समिति र बचतकर्ताले संयुक्त रूपमा निकालेको श्वेतपत्र अनुसार १५ रोपनी १३ आना ३ पैसा एक दाम जग्गा छ । जसको बजार मूल्य १ अर्ब ५२ करोडभन्दा बढी मानिएको छ ।
जनताको रकम आफ्ना निजी कम्पनीहरूमा हत्याएपछि कुनै दिन संकट आउने निश्चित थियो । कोरोना महामारी लगायत कारण आर्थिक प्रणालीमा आएको समस्याले सुमेरुमा त्यो संकट ल्याएको थियो ।
सुमेरु सहकारीले २०७९ पुसदेखि बचतकर्ताको बचत फिर्तामा सिलिङ लगाउन थाल्यो । आफूले दुःख गरेर जम्मा गरेको रकम फिर्ता माग्न आउने बचतकर्ताहरूको लाम लागेपछि सुमेरु सहकारीले कार्यालय खोलेर कारोबार सञ्चालन गर्न सक्ने अवस्था समेत रहेन ।
त्यही बेला अध्यक्ष भरत भने बेलायत लागेका थिए । सञ्चालक समितिका अनुसार मंसिर २०७९ को चुनाव अघि नै उनी बेलायत गएका थिए ।
निर्वाचनको बेलामा चन्दा माग्न आउनेहरू धेरै हुन्छन् भन्दै सहकारीमा ३०÷४० करोड रकम झिकेर बेलायत गएका थिए । उनी नफर्किंदै पैसा सकियो । उनी फर्किएपछि लेनदेनका लागि भनेर सहकारीमा ३ अर्ब रुपैयाँ बाँकी रहेको पनि सिलिङ तोकेर बचतकर्ताहरूलाई फिर्ता गर्न थालिएको थियो । त्यहीबेला उनी श्रीमतीको उपचारका लागि भारत गए र बेलायत पुगे ।
भरतले करिब साढे २ वर्ष अगाडि श्रीमती राजमायासँग नक्कली डिभोर्स गर्नुका साथै छोराछोरीलाई अंश दिइसकेको समेत खुलेको छ । सहकारी सञ्चालक भरत र उनको परिवार बेलायत पलायन भएपछि बचतकर्ताहरूले ६ वैशाख २०८० मा भेला गरेर समिति बनाएका छन् । समितिले सञ्चालक समितिसँग मिलेर सुमेरु सरकारीको श्वेतपत्र जारी गर्नुका साथै बचत फिर्ताको कार्ययोजना समेत बनाएको छ ।