
बैंकिङ खबर/ सहकारी विभागका रजिष्ट्रार नमराज घिमिरेले सहकारीबाट लगेको ऋण तिर्दिन भन्ने छुट कसैलाई स्पष्ट पारेका छन् । राष्ट्रिय सहकारी बैंकले पोखरामा आयोजना गरेको सदस्य सम्मान तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै रजिष्ट्रार घिमिरेले सहकारीको ऋण नतिर्नेहरुलाई कानूनी कारबाही हुने बताए ।
‘मुलुकमा कानून छ, कानुन भएको मुलुकमा सहकारीबाट ऋण लगेर तिर्दिन भन्ने कुरा गलत हो, यस्ता खालका अराजकतालाई कानुन अनुसार कार्वाही हुन्छ,’ ऋणीको जग्गा तथा उसको हकभोग लाग्ने एकाघरको सम्पत्ती समेत विक्री गरेर ऋण तिर्ने कानुनी व्यवस्था भएकाले ऋण नतिर्ने छुट कसैलाई पनि नभएको घिमिरेको भनाइ छ ।
सहकारीमा राखेको धितो वा धितो नराखेको भए पनि ऋणी र उसको हकभोग लाग्ने एकाघरको सम्पत्ती समेत विक्री गरेर ऋण तिराउने व्यवस्था सहकारी ऐनमा रहेको उनको भनाई छ । सहकारीबाट लगेको ऋण नतिरे राज्यले सहजीकरण गरेर ऋण तिर्ने वातावरण बनाउने उनले बताए ।
सहकारी क्षेत्रमा देखिएको पछिल्लो समयको समस्या वित्तीय संकटका कारण आएको भन्दै घिमिरेले सहकारीलाई नियम अनुसार सञ्चालन नगर्ने केही सहकारीहरुका कारण देशभरका असल सहकारीहरुलाई समेत तरलता समस्या सिर्जना भएको उनले जनाए ।
सहकारीका नाममा निजी सम्पत्ती जोड्ने, आफु र आफन्तका कम्पनी चलाउने र वित्तीय संकट देखाएर वचतकर्ताहरुको रकम फिर्ता नगर्नेहरुलाई कार्वाही गरी वचतकर्ताहरुको रकम फिर्ता गराउनका लागि विभागले प्रक्रिया अगाडि बढाएको उनले जानकारी दिए ।
प्रभावकारी नियमन हुन नसकेका कारण सहकारीहरुले वित्तीय अनुशासन पालना नगरेको चर्चा गर्दै घिमिरेले सहकारीहरुलाई ऐन अनुसार सञ्चालनका लागि विभागले खबरदारी गर्ने उल्लेख गरे।
सहकारी राम्रोसंग चलाउदै गर्दा वित्तीय क्षेत्रको संकटका कारण तरलता समस्या भएका सहकारीहरुले श्वेतपत्र जारी गरेर वचत फिर्ताका लागि समय तोक्न सक्ने व्यवस्था गरिएको छ । सहकारीको रकमबाट निजी सम्पत्ती जोड्न प्रयोग गर्नेहरुलाई कारबाही गरेर बचतकर्ताको रकम फिर्ता गरिने उनले बताए ।




