
बैंकिङ खबर/काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । बुधबार महानगरका मेयर बालेन शाहले नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् । महानगरले सहकारी सम्बन्धी कार्यनीति समेत समेटेको छ ।
स्थानीय सिप, कला, उत्पादनलाई प्रोत्साहन गर्न महानगरपालिका क्षेत्रभित्रका डिपार्टमेन्टल स्टोर, सपिङ्ग मल, मार्टहरूसँग समन्वय गरी बिक्री वितरणका लागि निश्चित स्थान उपलब्ध गराउन तथा स्थानीयलाई रोजगारी दिने व्यवसायीहरुलाई सहुलियत दिने व्यवस्था मिलाइनेछ ।
स्थानीय समुदायमा प्रचलनमा रहेको स्थानीय पेयपदार्थलाई नीजि व्यवसायीहरुसंगको सहकार्यतामा ब्रान्डिङ गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा बिक्रि वितरण गर्न सहजीकरण गरिनेछ ।
सहकारी क्षेत्रमा सुशासन कायम गर्न सहकारीहरुलाई प्रवद्र्धन, नियमन तथा अनुगमन गर्ने कार्यलाई तीव्रता दिँदै विद्युतीय प्रणालीमा आवद्ध गरिनेछ ।
संस्थाका सदस्यहरुलाई लक्षित गरी सहकारी शिक्षा कार्यक्रम सञ्चालन गरिनेछ । महानगर क्षेत्र बाहिर संचालित उत्पादनमूखी सहकारीहरुसँग सहकार्य गरी गुणस्तरीय वस्तु सुलभ रुपमा उपलब्ध गराउन प्रवन्ध गरिनेछ ।
संकटग्रस्त सहकारी व्यवस्थापनका लागि संस्थागत संयन्त्र निर्माण गरी प्राथमिकताका साथ कार्य गरिनेछ । सहकारी दर्ता, नविकरण तथा मर्जर सम्बन्धमा मापदण्ड बनाई कार्यान्वयनमा ल्याइनेछ ।




