Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

सहकारीमा जनताको झण्डै पाँच खर्ब निक्षेप

२०८० जेष्ठ १५ गते

बैंकिङ खबर/ सहकारी संस्थामा सर्वसाधारणको कुल निक्षेप झन्डै पाँच खर्ब रुपैयाँ पुगेको छ । चालु आर्थिक वर्ष २०७९/८० को फागुन महिनासम्ममा देशभर सञ्चालनमा रहेका ३१ हजार ३७३ सहकारीमा चार खर्ब ७८ अर्ब तीन करोड रुपियाँ रहेको छ ।

अर्थ मन्त्रालयले आइतबार सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०७९/८० का अनुसार सहकारीमा सेयर सदस्य सङ्ख्या ७३ लाख ८१ हजार २१८ रहेको छ भने करिब साढे ३१ हजारको सङ्ख्यामा रहेका सहकारीको सेयर पुँजी ९४ अर्ब १५ करोड रुपियाँ रहेको छ । यस्तै चालु आर्थिक वर्षको आठ महिनासम्ममा सहकारी क्षेत्रमा चार खर्ब ७८ अर्ब तीन करोड रुपैयाँ बचत परिचालन भएको छ भने कर्जा प्रवाह चार खर्ब २६ अर्ब ३५ करोड रुपैयाँ पुगेको छ ।

सहकारी क्षेत्रमा ९१ हजार तीन सय प्रत्यक्ष रोजगार रहेकामा २०७९ फागुनसम्म यो सङ्ख्या ९३ हजार ७७१ पुगेको अर्थ मन्त्रालयले प्रकाशित आर्थिक सर्वेक्षणमा उल्लेख छ ।सहकारी गतिविधिलाई विश्वसनीय र पारदर्शी तुल्याउन एवं एकीकृत तथ्याङ्कका लागि विकास गरिएको अनलाइन प्रविधिमा आधारित सहकारी तथा गरिबी सूचना व्यवस्थापन प्रणालीमा २०७९ असारसम्म १० हजार ८४१ सहकारी संस्था आबद्ध भएका छन् ।

यस आर्थिक वर्षको फागुनसम्म तीन हजार २४१ थप भई हालसम्म १४ हजार ८२ सहकारी संस्था यस प्रणालीमा आबद्ध भएका छन् । निक्षेप परिचालन र कर्जा प्रवाहमा वृद्धिआर्थिक वर्ष २०७९/८० को फगुनसम्म बैंक तथा वित्तीय संस्थाको निक्षेप ५.५ प्रतिशतले वृद्धि भई ४३ वर्ष ६३ अर्ब ३४ करोड रुपैयाँ पुगेको छ ।

गत आर्थिक वर्षको सोही अवधिमा यस्तो वृद्धिदर ४.१ प्रतिशत रहेको थियो । आर्थिक वर्ष २०७९/८० को फागुनसम्म तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाहित कर्जा २.८ प्रतिशतले वृद्धि भई ४७ वर्ष ४५ अर्ब २८ करोड रुपैयाँ पुगेको छ ।

२०७९ फागुनसम्म कुल निक्षेपमध्ये मुद्दती ५९.९ प्रतिशत, बचत २५.७ प्रतिशत, चल्ती ७.९ प्रतिशत र अन्य निक्षेपको अंश ६.५ प्रतिशत रहेको छ । पुनर्कर्जामा सात अर्ब, सहुलियत कर्जा दुई खर्ब बढीनेपाल राष्ट्र बैङ्कले सहुलियतदरमा प्रदान गर्दै आएको पुनर्कर्जातर्फको लगानी २०७९ फागुन मसान्तमा सात अर्ब १२ करोड रुपियाँ रहेको छ ।

आर्थिक वर्ष २०७९/८० को फागुनसम्म एक लाख ४८ हजार ४५४ ऋणीलाई सहुलियतपूर्ण कर्जा प्रवाह भई दुई खर्ब आठ अर्ब ९६ करोड रुपैयाँ कर्जा लगानीमा रहेको छ । कुल सहुलितयपूर्ण कर्जा लगानीमध्ये वाणिज्य बैंकबाट ८८ प्रतिशत, विकास बैङ्कबाट १०.६ प्रतिशत, वित्त कम्पनीबाट १.४ प्रतिशत र लघुवित्त संस्थाबाट ०.०३ प्रतिशत रहेको छ ।

आर्थिक वर्ष २०७९/८० को फागुनसम्म प्रवाहित सहुलियतपूर्ण कर्जा लगानी दुई खर्ब आठ अर्ब ९६ करोडमध्ये सबैभन्दा बढी व्यावसायिक कृषि तथा पशुपन्छीतर्फ ६७.८ प्रतिशत, महिला उद्यमशील कर्जातर्फ ३०.७ प्रतिशत र सहुलियतपूर्ण कर्जाका अन्य शीर्षकतर्फ १.५ प्रतिशत रहेको छ ।

नेपाल राष्ट्र बैंक पुनर्कर्जा कार्यविधि २०७७ मा पाँचौँ संशोधन गरी बैंकबाट प्रदान हुने पुनर्कर्जा सुविधालाई विशेष अवस्थामा तोकिएका क्षेत्रहरूमा सीमित गरी गैरपरम्परागत मौद्रिक उपकरणका रूपमा मात्र प्रयोग गर्ने व्यवस्था गरिएको छ । २०७९ पुस मसान्तसम्म वाणिज्य बैंकहरूको कुल कर्जा लगानीको कृषि क्षेत्रमा १३ प्रतिशत, ऊर्जा क्षेत्रमा ६.३ प्रतिशत र लघु, घरेलु, साना एवं मझौला उद्यमका क्षेत्रमा ९.५ प्रतिशत गरी जम्मा १२ खर्ब दुई अर्ब ९३ करोड रुपियाँ कर्जा लगानी रहेको छ ।

विकास बैंकहरूले २०८० असारसम्म कुल कर्जा लगानीको १६ प्रतिशत कर्जा कृषि, लघु घरेलु तथा साना उद्यम-व्यवसाय, ऊर्जा र पर्यटन क्षेत्रमा प्रवाह गर्नुपर्ने व्यवस्था रहेकामा २०७९ पुससम्म उक्त क्षेत्रमा २६.६ प्रतिशत (एक खर्ब १५ अर्ब ७५ करोड रुपियाँ रहेको छ ।

त्यसैगरी वित्त कम्पनीले २०८० असारसम्म कुल कर्जा लगानीको ११ प्रतिशत कृषि लघु घरेलु तथा साना उद्यम-व्यवसाय ऊर्जा र पर्यटन क्षेत्रमा प्रवाह गर्नुपर्ने व्यवस्था रहेकामा २०७९ पुससम्ममा उक्त क्षेत्रहरूमा २४ प्रतिशत (१९ अर्ब ३३ करोड रुपैयाँ) रहेको छ ।