
बैंकिङ खबर/सहकारी संघ संस्थाका केही सञ्चालकले गम्भीर लापरबाही, गल्ती, कमजोरी गरेका कारण संस्था समस्याग्रस्त बन्दै गएको सहकारी विभागले जनाएको छ । पछिल्लो समय समस्यामा परेका कतिपय सहकारीका सञ्चालकहरुले सहकारी ऐन तथा नियमावलीका कानूनी छिद्र पहिल्याउँदै त्यसैको उपयोग गर्दै आफ्ना निहीत स्वार्थ पूर्तिका लागि सहकारीको उपयोग गरेको विभागको ठहर छ ।
विभागद्वारा जारी विज्ञप्तिमा भनिएको छ,‘देशव्यापी रुपमा सहकारी सञ्चालनको अनुमति लिई अत्यन्त ठूलो परिमाणमा बचत संकलन गर्ने र त्यस्तो बचत रकम आफ्नो वा आफ्ना नातेदार वा साझेदारका नाममा स्थापना गरिएका व्यबसायिक कम्पनीहरुमा लगानी गर्ने जस्तो अत्यन्त गैह्र सहकारी वित्तीय कारोबार गरेका सहकारीहरुमा विशेषगरी पछिल्लो समय समस्या देखिएको छ ।’
नियामक निकायहरुको सीमित क्षमताका कारण सहकारीहरुले आवधिक रुपमा कार्यालयमा पेश गरेका कागज र प्रतिवेदनहरुकै आधारमा अनुगमन तथा नियमन गर्नेपर्ने बाध्यता रहेको जनाएको छ । ठूलो संख्यामा सहकारीहरु स्थापना भएका तथा नियामक निकायको क्षमता विकास सोही रुपमा नहुदा नियमन प्रभावकारी नभएको विभागले जनाएको छ ।
सहकारी विभागको नियमन क्षेत्राधिकारमा परेका सहकारीको संख्या तुलनात्मक रुपमा थोरै भएपनि सहकारीको कारोबारको ठूलो आकार र विभागको संस्थागत संरचनागत संकुचनले नियमन प्रभावकारी हुन नसकेको जनाएको छ । पछिल्लो समय सहकारीहरु सहकारी कम वित्तीय संस्था बढी भएको जनाएको छ । ‘समस्या आइसकेपछि विभागमा गुनासो लिएर आउने अधिकांश सेवाग्राहीहरुले आफूलाई सहकारीको सदस्य भन्दा बचतकर्ताको रुपमा परिचय गराउने र आफूले रकम जम्मा गरेको सहकारीको सञ्चालक कसैलाई पनि नचिन्ने बरु विशुद्ध बैंकिङ्ग स्वरुपको कारोबार गरेको भन्ने भनाइबाट पनि सहकारीको वर्तमान अवस्था छर्लङ्ग हुन्छ’ विज्ञप्तिमा भनेको छ ।
बचत तथा ऋणको कारोवार गर्ने सहकारीको बाहुल्यता रहेको र बहुउद्देशीय सहकारी तथा अन्य सहकारीहरुको पनि मुख्य ध्येय वचत संकलन र ऋण लगानीमै रहेकोले सहकारीको मर्म नै नसमातिएको देखिएको विभागले जनाएको छ ।
विभागले बचतकर्तालाई आफ्नो व्यवहारिक समस्याको सही र वास्तविक तथ्यसहित बचत फिर्ताका लागि संस्थामा अनुरोध गर्दै अविश्वासकै कारण बचत फिर्ता माग्न गई सहकारी संस्थाहरुमा थप तरलता दबाव सिर्जना नगर्न आग्रह गरेको छ । वास्तविक रुपमा रकम अत्यावश्यक भएका सदस्यको गर्जो टार्ने कुराको प्रत्याभूति गर्न सञ्चालकलाई निर्देशन दिएको छ ।





