Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

९७.७५ करोडको ‘वैदेशिक रोजगार बचतपत्र’ बिक्री गर्दै राष्ट्र बैंक

२०८० बैशाख १५ गते

बैंकिङ खबर/सरकारका तर्फबाट नेपाल राष्ट्र बैंकले ९७ करोड ७५ लाख ७० हजार पैयाँको ‘वैदेशिक रोजगार बचतपत्र–२०८५’ वैशाख १७ गतेदेखि बिक्री खुला गर्ने भएको छ।राष्ट्र बैंकले वैदेशिक रोजगारमा संलग्न नेपाली तथा गैरआवासीय नेपालीका लागि यो बचतपत्रको बिक्री खुला गर्न लागेको हो।

यो बचतपत्र मुलुकबाहिर रोजगारीमा संलग्न वा मुलुकबाहिरको रोजगारीबाट फर्केको ६ महिना नपुगेका नेपाली नागरिक वा गैरआवासी नेपालीले आफू वा आफ्नो परिवारका सदस्य (बुवा, आमा, श्रीमान, श्रीमती, छोरा, छोरीमात्र) को नाममा खरिद गर्न सक्नेछन्।

यो बचतपत्रमा वार्षिक ११ प्रतिशत (ब्याजकर लाग्ने) ब्याज पाइनेछ। यो बचतपत्रको ब्याज भुक्तानी ६–६ महिनामा गरिनेछ भने ५ वर्षमा साँवा भुक्तानी हुने राष्ट्र बैंकले जनाएको छ।

यो बचतपत्र चाहेको समयमा बिक्री गर्न वा धितो राखी बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन पनि सकिनेछ। लगानीकर्ताले आउँदो जेठ १७ गतेसम्म यो बचतपत्र खरिदका लागि आवेदन दिन सक्नेछन्।

लगानीकर्ताले काठमाण्डौस्थित सिटिजन्स् बैंक इन्टरनसेनल, नबिल बैंक, माछापुच्छ्रे बैंक, प्रभु बैंक, सनराइज बैंक, सिद्धार्थ बैंक, सानिमा बैंक, प्रभु मनी ट्रान्सफर, सेवा रेमिट र सिटी एक्सप्रेस मनी ट्रान्सफर, आइएमई लिमिटेड, एनएमबि बैंक, ग्लोबल आइएमई बैंक, नेपाल बैंक, ई–सेवा मनी ट्रान्सफर र नेपाल रेमिट इन्टरनेसनलमा गएर बचतपत्र खरिदका लागि आवेदन दिन सक्नेछन्।

इच्छुक लगानीकर्ताले वैदेशिक रोजगार बचत खरिद गर्नका लागि राष्ट्र बैंकको वेबसाइट www.nrb.org.np अन्तर्गत Monetary Management भित्र रहेको अनलाइन प्रणालीमार्फत पनि आवेदन पेस गर्न सक्नेछन्। यो बचतपत्रको निष्कासन जेठ २४ गते हुनेछ भने साँवा भुक्तानी २०८५ जेठ २४ गते हुनेछ।