
बैंकिङ खबर/सरकारले आन्तरिक ऋणका रूपमा उठाउने नागरिक बचतपत्र तथा वैदेशिक रोजगार बचतपत्र अनलाइनबाटै खरिद गर्न सकिने भएको छ ।
नेपाल राष्ट्र बैङ्कसँगको समन्वयमा सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले तयार गरिरहेको ‘इन्भेस्टर पोर्टल’मार्फत यस्तो बचतपत्र खरिद गर्न सकिने भएको हो ।
अहिले परीक्षणका रूपमा रहेको उक्त पोर्टल वैशाखदेखि सर्वसाधारणका लागि खुला गरिने छ । वैदेशिक रोजगार बचतपत्र र नागरिक बचतपत्रमा सर्वसाधारणको आकर्षण बढाउन अनलाइनबाटै यस्तो सुविधा दिने तयारी कार्यालयले गरेको हो । आन्तरिक ऋणमा सरकारले उठाउने ऋणपत्रहरूमध्ये यी दुवैको हिस्सा अत्यन्त कम छ ।
पछिल्लो तथ्याङ्कअनुसार कुल आन्तरिक ऋणमध्ये नागरिक बचतपत्रको हिस्सा ०.९३ प्रतिशत र वैदेशिक रोजगार बचतपत्रको हिस्सा ०.०२ प्रतिशत रहेको छ ।



