मुक्तिनाथ विकास बैंकले पुनः ४० प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ । हाल ५० प्रतिशत हकप्रद सेयर निष्काशन गरिरहेको बैंकले ३४ प्रतिशत बोनस सेयर जारी गरिसकेपछि ४० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव अघि सारेको हो । प्रस्तावित ३४ प्रतिशत बोनस सेयर पारित गर्न बैंकले आगामी मंसिर ४ गते साधारणसभा बोलाएको छ । उक्त साधारणसभामा हकप्रद सेयरको प्रस्ताव पनि लगिने बैंकको सञ्चालक समितिको निर्णय छ ।
मुक्तिनाथ विकास बैंक राष्ट्रिय स्तरको विकास बैंक हो । राष्ट्र बैंकको निर्देशनअनुसार, राष्ट्रिय स्तरको विकास बैंकले आगामी असार मसान्तसम्ममा अढाई अर्ब पुँजी पुर्याउनुपर्ने हुन्छ । हाल मुक्तिनाथ विकास बैंकको चुक्तापुँजी ८३ करोड ८४ लाख रुपैयाँ छ । ५० प्रतिशत हकप्रद सेयर बेचेपछि मुक्तिनाथको चुक्ता पूँजी एक अर्ब ५४ करोड पुग्नेछ । ३४ प्रतिशत बोनस सेयर वितरण गरेपछि बैंकको पुँजी दुई अर्ब छ करोड ३६ लाख रुपैयाँ पुग्नेछ । त्यसपछि ४० प्रतिशत हकप्रद सेयर जारी गर्दा बैंकको पुँजी अढाई अर्ब नाघ्नेछ । बैंकले पुँजीवृद्धिका लागि मर्जर तथा एक्विजिसनलाई पनि विकल्पमा राखेको छ ।
साधारणसभा प्रयोजनका लागि बैंकले आगामी कात्तिक २४ गतेदेखि बुक क्लोज गर्दैछ । जसअनुसार, कात्तिक २३ गतेसम्म कायम सेयरधनीले मात्रै उक्त साधारणसभामा भाग लिन र बोनस सेयरका लागि दाबी गर्न पाउनेछन् ।
पोखरामा मुख्य कार्यालय रहेको मुक्तिनाथले कारोबार बिस्तार गर्ने क्रममा राजधानमिा कर्पोरेट कार्यालय स्थापना गरी पानी पोखरीमा करोडौ पर्ने जग्गा किनेर केन्द्रीय कार्यालय सार्ने क्रममा साधारणसभाबाट त्यससम्बन्धी प्रक्रिया समेत अगाडि बढाउन लागेको छ ।



