२०७३ कार्तिक १० गते

धिरेन्द्र पन्तको ‘रेमिट्यान्स उपभोग’ फर्मुला : ‘विदेशीएका नेपालीलाई हाइड्रोमा शेयर दिनुपर्छ’ 

dhirendra-panta-2धिरेन्द्र पन्त बुम रेमिट्यान्सका प्रबन्ध निर्देशक हुन् । विगत १७ वर्ष अघिदेखि बैकिङ क्षेत्रमा कार्यरत उनले यस अवधिमा ४ ओेटा कमर्सियल बैंकमा काम गरे । पन्तले २ वर्ष एनसीसी बैंक (तत्कालिन बैैंक अफ सीलोन), ११ वर्ष हिमालयन बैंक, तथा पछिल्लो समय सेन्चुरी बैंक हुँदै रेमिट्यान्सतर्फ पाइला अघि बढाए । हाल बुम रेमिट्यान्सले नेपालका अधिकाँस ठाउँमा रेमिटन्सको कारोबार गर्दै आएको छ । धेरै युवाहरु विदेशमा भएका कारण उनीहरुलाई रेमिट्यान्सको माध्यमबाट वित्तिय चेतना अभिबृद्धि गर्ने, विभिन्न देशमा हुण्डीको न्यूनिकरण गर्ने जस्ता कार्यमा समेत बुम रेमिट्यान्सका प्रबन्ध निर्देशक पन्त लागिपरेका छन् । उनै व्यक्तिसँग बैंकिङ खबरले गरेको रेमिट्यान्स बार्ता यहाँ प्रस्तुत गरिन्छ :   

तपाई लामो समय बैंकिङ क्षेत्रमा रहनुभयो, बैंकिङ क्षेत्रबाट रेमिट्यान्स क्षेत्रमा कसरी लानग्नुभयो ?  
बैकिङ क्षेत्रमा काम गर्दादेखि नै बिदेशी मुद्रासँग सम्बन्धित रहेर विजनेस गर्ने धारणा थियो । किनभने विदेशीनेको संख्या अत्याधिक भएको हाम्रो जस्तो देशमा विदेशी मुद्रा नै बिक्छ । सन् २००३ देखि नै अन्य मुलुकहरुको रेमिट प्रणालीबाट आकर्षित भएर नै यो क्षेत्रमा लाग्न अझै बढी हौसला मिल्यो । ड्राफको झन्झटिलो प्रणाली देखेर यसलाई अनलाइन मार्फत गर्न पाए राम्रो हुन्थ्यो जस्तो लागेको थियो । त्यतिबेला म हिमालयन बैंकमा कार्यरत थिएँ, जतिबेला हिमाल रेमिट सञ्चालन गरीयो, अनि रेमिट क्षेत्रमा पाइला टेकियो । सन् २००४ मा अनलाइन पोर्टल संचालन गरियो । सन् २००५ मा हिमाल रेमिटको प्रतिनिधित्व गर्न पाएँ । त्यसबेला ३ वर्ष कतारमा बसेर रेमिट्यान्सको बारेमा अध्ययन गर्न पाएँ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले मिहिनेत गरेर कमाएको रकमलाई छिटो र भरपर्दो तरिकाले उनीहरुको आफन्तसम्म पुर्याउने कार्यमा अगाडी बढ्दै जाँदा उत्साह जागेर नै म यस क्षेत्रमा लागेको हुँ । 

बुम रेमिट्यान्सको बारे बताइदिनुस् न ? 
बुम रेमिट्यान्स भरखरै मात्र सञ्चालनमा आएको हो । नेपालमा तथा विदेशमा रहनुभएका नेपाली दाजुभाई तथा दिदिबहिनीहरुको विश्वास हामीले जितिरहेका छौं । जसकारण छोटो समयमै हामीले धेरै काम गर्न सकेका छौं । पछिल्लो समय प्रत्येक महिना कम्तिमा २÷३ प्रतिशतले बढीरहेको छ । बुम रेमिट्यान्सको विशेषगरी बजारीकरण, आयदर र गुणस्तरमा दिनप्रतिदिन वृद्धि आइरहेको हुनाले यसको अवस्था बलियो र राम्रो बन्दै गइरहेको छ । हामीले युएईबाट रेमिट्यान्स सेवा सुरु गरेका छौँ । अन्य देशहरुमा पनि सञ्जाल विस्तार गर्ने क्रममा छौँ । कतार, ओमन, बहराइन, इजरायल, साउदी अरब, कुवेत, युरोप कोरिया र भारत लगायतका देशहरुमा अब छिटै नै सञ्जाल विस्तार हुँदैछ । यस कम्पनिको एउटै नारा छ ‘सुभेक्षा समृद्धिको’ । हाम्रा ग्राहकको समृद्धि होस् र सारा नेपालीको समृद्धि होस् भन्ने हाम्रो उद्देश्य हो । 

हाल रेमिट्यमान्स कम्पनि मार्फत भनौ वा बैकिङ प्रणालीमार्फत भित्रिने विप्रेषणको अवस्था कस्तो छ ? 
सन् २००६ मा बैकिङ प्रणालीबाट विपे्रषण भित्र्याउनुपर्ने आवश्यकता महशुस भयो । त्यतिबेला नेपालीहरुमा यो धारणाको विकास पनि भइसकेको अवस्था थियो । ग्लोबलाइजेसनका कारण सन् २००९ देखि २०१० सम्म बैंकिङ प्रणालीमार्फत रेमिट्यान्स आप्रवाहमा केही कमी आएको भएपनि सन् २०११ देखि लगभग सन् २०१५ सम्म यसको वर्चस्व कायमै रह्यो । हाल पुनः रेमिट्यान्समा कमी आएको देखिन्छ । यद्यपी पछिल्लो समय विदेशका अधिकाँस ठाउँमा बैकिङ माध्यमबाट रकम पठाउनुपर्छ भन्ने चेतना अभिबृद्धि भइसकेको छ । 

dhirendra-panta-1पछिल्लो समयमा रेमिट्यान्स आप्रवाह घटेको छ, यसका कारणहरु के के हुन सक्छन् ?  
हाल आएर विप्रेषण आप्रवाहमा गिरावट आएको छ । मानिसहरु जहाँ राम्रो व्याज दिन्छ, त्यहाँ रकम राख्न चाहान्छन् । बैंकमा पैसा राख्दा उनीहरुले कम व्याज पाउने, सुन ल्याउँदा सुनका व्यापारीहरुले ५—१० हजार बढी पैसा दिने, घाटा व्यहोर्ने, नेपालमा उद्यम गर्ने वातावरण नभएकोले विदेशमा विजनेस गर्दा फाइदा लिन सकिन्छ भन्ने धारणा लगायतका कारण पछिल्लो समय रेमिट्यान्स घटेको हो । त्यस्तै विदेशी राष्ट्रहरुले विभिन्न खालका हातहतियारमा पैसा लगाउनाले पनि नेपालको विप्रेषणको आप्रवाहमा कमि आएको हो । यसका साथै सम्पत्ति शुद्धिकरणको अर्को समस्या आइलाग्ने कारणले पनि मानिसले बैंकमा पैसा देखाउन नचाहेको हुन सक्छ । साथसाथै पछिल्लो समय विदेशीनेको संख्यामा आएको कमी पनि रेमिट्यान्स घट्नुको कारण हुन सक्छ । 

नेपालमा अझ पनि विप्रेषणको केही हिस्सा हुण्डीबाटै आएको पाइन्छ । विदेशबाट पठाइने सबै पैसालाई बैंकिङ प्रणालीमा ल्याउन के गर्न सकिएला ? 
विदेशबाट पठाइने सम्पूर्ण रकमलाई बैंकिङ च्यानलमा ल्याउन खासगरी राज्य, रेमिट्यान्स कम्पनि, बैंक तथा अन्य वित्तीय क्षेत्रका प्राइभेट कम्पनीहरुको भूमिका महत्वपूर्ण रहन्छ । नेपालको सन्दर्भमा नीति नियम नै गलत भएका कारण अझै पनि बैकिङ माध्यमबाट रकम नआएर हुन्डी मार्फत आउने गरेको छ । यसका लागि पहिले त नीति निर्माणमा नै ध्यान दिनुपर्छ । नीति निर्माण गर्दा लामो समय बैकिङ क्षेत्रमा काम गरेर अनुभव बटुलेका हामी जस्ता व्यक्तिहरुसँग छलफल गरेर बनाइयो भने हुण्डीबाट आउने विप्रेषणलाई अबस्य न्यूनिकरण गर्न सकिन्छ । 

मुलुकको अर्थतन्त्र नै रेमिट्यान्समा अडिएको छ, रेमिट्यान्स कम्पनिहरुको भुमिका अझै प्रभावकारी बनाउन के गर्नुपर्ला ? 
मुलत रेमिट्यान्स संस्थाहरुको भुमिका थप प्रभावकारी बनाउन सर्वप्रथम रेमिट्यान्सको गुणस्तरमा ध्यान दिनुपर्छ । राष्ट्र बैंकले कतै हुण्डीबाट गलत तरीकाले रकम आएको त छैन भन्ने कुरालाई मध्यनजर गर्दै यसलाई रोक्न विभिन्न नीति नियम बनाएको छ । यदि हुन्डीबाट आउने रकम रोक्न सक्ने हो भने रेमिट्यान्सहरुलाई सबल बनाउन सकिन्छ । अर्को कुरा, राज्यमा आधिकारिक रुपमा वित्तीय कम्पनिहरुलाई काम गर्न दिनका लागि प्रविधिको विकास गर्न जरुरी देखिन्छ ।

नेपालमा भित्रिएको रेमिट्यान्स धेरै अनुत्पादन क्षेत्रमा खर्च हुन्छ, तपाईको बिचारमा यसलाई उत्पादन क्षेत्रमा कसरी लगाउन सकिन्छ ?
२०७२ असारको आंकडा हेर्दा ५ दशमलव ५ खर्ब र २०७३ असारको आंकडा हेर्दा ६ खर्ब चालिस अर्ब रेमिट्यान्स भित्रिएको देखिन्छ । ०७२ असारको बैंकको आंकडा हेर्दा कुल रेमिट्यान्समध्ये करीब ३५ अर्ब मात्र बैंकमा जम्मा गरियो । ०७३ मा आउँदा ६५ देखि ७० अर्बको हाराहारीमा रकम बैंकमै जम्मा भएको पाइन्छ । महंगा विदेशी सामानहरु खरीद, अन्य विलासीताका बस्तुहरुमा खर्च बढेका कारणले उत्पादन क्षेत्रमा विप्रेषणको लगानी कम भएको हो । हाल भने सर्वसाधारणमा बैकिङ साक्षरतामा वृद्धि भएको छ । राज्यले नै एक घर एक खाता नीति ल्याएको छ । बजेटमा पनि हरेक व्यक्तिको बैंक खाता हुनैपर्ने भन्ने नियम आएको छ । यसले गर्दा रेमिट्यान्स  अनुत्पादक क्षेत्रमा जानबाट केही हदसम्म जोगिएको छ । यसबाहेक विदेशीएका नेपालीलाई विदेशमै सेयर आवह्वान गर्न नेपाली श्रमिक विप्रेषण समिति गठन गरी कम्तिमा २५ प्रतिशत सेयर दिने र त्यो पैसा हाइड्रो टुरिजम लगायत अन्य क्षेत्रमा लगानी गर्ने नीति लिने हो भने मलाई लाग्छ रेमिट्यान्स उत्पादन क्षेत्रमा लगाउन सकिन्छ ।