
बैंकिङ खबर/शिव शिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको बुटवल शाखा एक महिनादेखि बन्द रहेको छ । बचतकर्ताहरूको रकम फिर्ता गर्न नसकेपछि कार्यालयले ‘१५ दिन बन्द रहने’ सूचना टाँसेको थियो। अहिले पुनः अनिश्चितकालका लागि कार्यालय बन्द हुने अर्को सूचना टाँसिएको छ ।
गत कात्तिकदेखि नै उक्त सहकारी कार्यालयमा बचत फिर्ता माग्नेको भिड लागेको थियो। भिडभाडमै कार्यालय सञ्चालन गरे पनि गत फागुन ८ गते ‘कार्यालय १५ दिन बन्द हुने’ सूचना टाँसिएको थियो।
उक्त सूचनामा संस्था ‘मर्जर प्रक्रियामा रहेकाले फागुन ८ गतेदेखि २३ गतेसम्म पुँजी व्यवस्थापनका लागि आर्थिक कारोबार बन्द हुने’ उल्लेख गरिएको थियो।
अध्यक्ष सुशील बानियाँकै हस्ताक्षरमा सूचना टाँसिएपछि बचतकर्ताले धैर्य गरे। केही बचतकर्ताहरू फागनु २३ गते कार्यालय पुग्दा मूल गेटमा ताला लागेको थियो। भोलिपल्ट २४ गते पनि कार्यालय खुलेन।
एकाएक २५ गते ‘२३ गतेदेखि कार्यालय सञ्चालन गर्ने भनिएकोमा सञ्चालक समितिहरू विभिन्न शाखाहरूको सहजीकरणमा रहेकोले अर्को सूचना नआउँदासम्म कार्यालय बन्द रहने’ सूचना टाँसिएको छ ।
बचतकर्ताहरूका अनुसार यसपछि सहकारीका सञ्चालकहरू सम्पर्कविहीन छन्। शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाको केन्द्रीय कार्यालय भक्तपुरमा छ। बुटवल शाखामा कम्तीमा २२ सय बचतकर्ता छन्। उनीहरूले दैनिक र मासिक बचत गरेका थिए।
