October 25th, 2016

एक दर्जन बैंकमा सयौँको लागि खुल्यो रोजगारी

वित्तीय क्षेत्रमा करिअर बनाउन चाहनुहुन्छ भने यतिबेला थुप्रै बैंक तथा वित्तीय संस्थाले कर्मचारी माग गरिरहेका छन् । 

क वर्गका चार वटा बैंकले दुई सयको हाराहारीमा कर्मचारी माग गरेका छन् :
मेगा बैंक
मेगा बैंकले व्यवस्थापक र एसिस्टेन्ट लेभलका लागि ४० जना कर्मचारी माग गरेको छ । बैंकले व्यवस्थापनका लागि १० जना र एसिस्टेन्सका लागि ३० जना प्रशिक्षार्थी कर्मचारीको दरखास्त आह्वान गरेको हो । व्यवस्थापनका लागि कमर्स, मेनेजमेन्ट, विजनेस स्टडिज, विजनेस एडमिनिस्ट्रेसन वा अर्थशास्त्र विषयमा प्रथम श्रेणीमा स्नातकोत्तर उतीर्ण गरेको हुनुपर्नेछ भने एसिस्टेन्टका लागि कम्तीमा दोस्रो श्रेणीमा स्नातक उतीर्ण गरेको हुनुपर्नेछ । व्यवस्थापनका लागि ३० र एसिस्टेन्टका लागि २५ वर्ष उमेर ननाघेको हुनुपर्नेछ । इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले २७ अक्टोबर अर्थात् कात्तिक १२ गतेभित्रमा बैंकमा सम्पर्क गरिसक्नुपर्नेछ । 

बैंक अफ काठमाण्डू लुम्बिनी
बैंक अफ काठमाण्डू लुम्बिनीले केही संख्यामा जुनियर एसिस्टेन्ट माग गरेको छ । बैंकले उपत्यकाबाहिरका शाखाहरुका लागि उक्त पदमा दरखास्त आह्वान गरेको हो । आमलेखगञ्ज, बनेपा, बर्दघाट, विराटनगर, वीरगञ्ज, बुटवल, दमौली दिक्तेल, घोराही, गुलेरिया, हेटौँडा, जनकपूर, जुम्ला, खाँदबारी, लंकु, नारायणगढ, पनौती, परासी, पर्सा, सुर्खेत, तामघास र तुलसीपूर शाखाका लागि २५ वर्ष उमेर ननाघेका कर्मचारी आवश्यक परेको बैंकले जनाएको छ । यसका लागि, मार्के्टिङ, मेनेजमेन्ट, फाइनान्सियल मेनेजमेन्ट अथवा अर्थशास्त्रमा कम्तीमा दोस्रो श्रेणीमा स्नातक उतीर्ण गरेको हुनुपर्नेछ । इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले २ नोभेम्बर अर्थात कात्तिक १७ गतेभित्रमा आवेदन दिइसक्नुपर्नेछ ।

सानिमा बैंक
सानिमा बैंकले अफिसर र एसिस्टेन्ट तहका विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । बैंकले रिलेसनसिप मेनेजर, ब्रान्च मेनेजर, ब्रान्च अपरेसन इन्चार्ज, लिगल अफिसर, रिलेसनसिप अफिसर र ब्रान्च असिस्टेन्ट माग गरेको हो । अफिसर तहका रिलेसनसिप मेनेजर कर्जा डिपार्टका लागि दुई जना र निक्षेप व्यवस्थापन डिपार्टका लागि एक जना माग गरिएको छ । कर्जा डिपार्टका लागि एसिस्टेन्ट तहमा रहेर काम गर्ने रिलेशनसिप मेनेजर माग गरिएको छ । विभिन्न शाखाहरुका लागि एसिस्टेन्ट माग गरिएको छ भने बैंकासुरेन्सका लागि एसिस्टेन्ट तहमा रहेर काम गर्ने रिलेसनसिप अफिसर माग गरिएको छ । आवेदन दिने मिति ४ नोभेम्बर अर्थात कात्तिक १९ गतेसम्म रहेको छ ।

नविल बैंक
नविल बैंकले ११० जना कर्मचारीको दरखास्त आह्वान गरेको छ । बैंकले १०० जना ट्रेनी एसिस्टेन्ट र १० जना म्यानेजमेन्ट ट्रेनी माग गरेको हो । इच्छुक तथा बैंकले तोकेअनुसार योग्यता पुगेका फ्रेस उम्मेदवारले कात्तिक १९ गतेभित्र आवेदन दिनुपर्नेछ ।

त्यस्तै, चार वटा विकास बैंकले आफ्ना विभिन्न शाखा कार्यालयहरुका लागि ठूलो संख्यामा कर्मचारी माग गरेका छन् :

ओम डेभलपमेन्ट बैंक
ओम डेभलपमेन्ट बैंकमा जागीर खुलेको छ । बैंकले महाराजगञ्ज, बौद्ध र कलंकी शाखाका लागि ३ जना शाखा व्यवस्थापक माग गरेको हो । यसका लागि विजनेस मेनेजमेन्ट अथवा विजनेस एडमिनिस्ट्रेसनमा स्नातक उतीर्ण गरेको र कम्तीमा ३ वर्ष वित्तीय संस्थामा काम गरेको हुनुपर्नेछ । इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले २८ अक्टोबर अर्थात कात्तिक १२ गतेभित्र काठमाडौँमा रहेको बागदरबार शाखामा सम्पर्क गर्नुपर्नेछ । P.O.BOX : 372 पोखरामार्फत पनि आवेदन दिन सक्नुहुनेछ ।

भार्गव विकास बैंक
भार्गव विकास बैंकले एसिस्टेन्टदेखि मेनेजरसम्मका लागि कर्मचारी माग गरेको छ । क्षत्रियस्तरको विकास बैंक भार्गवले अफिसर, जुनियर अफिसर, सुपरभाइजर र एसिस्टेन्ट तहमा रहेर शाखा व्यवस्थापक र एसिस्टेन्सको जिम्मेवारीका लागि केही संख्यामा कर्मचारी माग गरेको हो । कम्प्युटर र पुमोरी बैंकिङ सफ्टवेर चलाउन जान्ने, बैंकिङ क्षेत्रमा काम गर्न इच्छुक र बैंकले तोकेबमोजिम योग्यता पुगेका नेपाली नागरिकले २ नोभेम्वर अर्थात कात्तिक १७ गतेभित्रमा आवेदन दिइसक्न आह्वान गरेको छ ।

सेवा विकास बैंक
बुटवलमा केन्द्रिय कार्यालय रहेको सेवा विकास बैंकले विभिन्न पदमा ठूलो संख्यामा कर्मचारी माग गरेको छ । बैंकले अफिर, एसिस्टेन्ट र पिउन पदका लागि कर्मचारी माग गरेको हो । इच्छुक, योग्यता पुगेका, कम्प्युटरसम्बन्धि ज्ञान भएको र अग्रेजी तथा नेपाली भाषा (लिखित र मौखिक)मा पोख्त नेपाली नागरिकलाई ७ नोभेम्बर अर्थात कात्तिक २२ गतेसम्ममा वायोडाटा, पासपोर्ट साइजको फोटो, सबै शैक्षिक प्रमाणपत्र र निवेदन सहित कम्पनीको प्रधान कार्यालयमा सम्पर्क गर्न आह्वान गरिएको छ । 

महालक्ष्मी विकास बैंक
महालक्ष्मी विकास बैंकले १८ जना कर्मचारी माग गरेको छ । बैंकले ८ जना सुपरभाइजर र १० जना अफिसर माग गरेको हो । पुमोरी सफ्टवेर सम्बन्धि व्यवहारिक ज्ञान भएको, राम्रो कम्युनिकेसन स्किल भएको, अग्रेजी र नेपाली भाषा लेखनका साथै बोलाईमा पनि पोख्त उम्मेदवारले ७ नोभेम्बर अर्थात कात्तिक २२ गतेभित्रमा निवेदन, वायोडाटा र हालसालै खिचेको पासपोर्ट साइजको फोटो [email protected] मा पठाउनुपर्नेछ ।

यसबाहेक, तीन वटा लघुवित्त बैंकहरुले पनि विभिन्न पदका लागि दरखास्त आह्वान गरेका छन् :
नेरुडे लघुवित्त
नेरुडे लघुवित्त विकास बैंकले वरिष्ठ उत्प्रेरक पदका लागि द्धितीय र तृतीय श्रेणीमा कर्मचारी माग गरेको छ । बैंकले निकट भविष्यमा विस्तार गर्न लागेका शाखाहरुका लागि केही संख्यामा कर्मचारी माग गरेको हो । आवेदन बुझाउने मिति कात्तिक १२ गतेसम्म रहेको छ । दरखास्त फारमको ५० रुपैयाँ र परीक्षा दस्तुर पाँच सय रुपैयाँ लाग्ने बताइएको छ । 

वोमी माइक्रोफाइनान्स
धादिङको खानीखोलामा केन्द्रीय कार्यालय रहेको वोमी माइक्रोफाइनान्स वित्तीय संस्थाले आफ्नो शाखा विस्तारका लागी प्रशिक्षार्थी सहायक देखी कनिष्ठ अधिकृत सम्मका पदका लागी आवेदन खुला गरेको छ । इच्छुक उम्मेदवारले कात्तिक १९ गते भित्र संस्थाको वेभसाइट www.womimfi.com बाट आवेदन फारम डाउनलोड गरी फारम भरेर [email protected] मा पठाउनुपर्नेछ ।

एनएमबी माइक्रोफाइनान्स
एनएमबी माइक्रोफाइनान्स वित्तीय संस्थाले केही संख्यामा शाखा सुपरभाइजर र सहायक प्रशिक्षार्थी माग गरेको छ । प्लस दुई उतीर्ण गरी कम्तीमा दुई वर्ष वित्तीय क्षेत्रमा काम गरेको अनुभव भएका उम्मेदवारको दरखास्त कम्पनीले आह्वान गरेको छ । आवेदन दिने मिति कात्तिक १७ गतेसम्म रहेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]