March 14th, 2023

राष्ट्र बैंकको संयोजनमा ‘ग्लोबल मनी विक’मनाइँदै

बैंकिङ खबर/ सन् २०२३ को ग्लोबल मनी विक चैत ६ गतेदेखि चैत १२ गतेसम्म नेपाल राष्ट्र बैंकको संयोजनमा देशभर मनाइने भएको छ । अर्गनाइजेसन अफ इकोनोमी कोअपरेसन एन्ड डेभलपमेन्ट (ओईसीडी)को अनुरोधबमोजिम यो वर्षको ग्लोबल मनी विक मनाउन गइरहेको राष्ट्र बैंकले जनाएको छ।

यस साप्ताहिक कार्यक्रममार्फत युवाहरुमा वित्तीय शिक्षाको प्रवर्द्धन गर्दै वित्तीय साक्षरता अभिवृद्धि गरी वित्तीय समावेशिता प्रवर्द्धनका माध्यमले स्वरोजगार सिर्जना, उत्पादन तथा आय वृद्धि र आर्थिक समृद्धिको लक्ष्य हासिल गर्न सहयोग पुग्ने केन्द्रीय बैंकको अपेक्षा रहेको छ।

सप्ताहको पहिलो दिन चैत ६ गते राष्ट्र बैंकको आयोजनामा नेपाल बीमा प्राधिकरण, नेपाल धितोपत्र बोर्ड, सहकारी विभाग र नेसनल बैंकिङ इन्स्टिच्युट लिमिटेडको संयुक्त सहभागितामा विभिन्न विषयका वित्तीय चेतनामूलक प्रस्तुतिहरु समावेश गरी कलेजस्तरका विद्यार्थीलाई समेटेर काठमाण्डौमा संयुक्त वित्तीय चेतनामूलक कार्यक्रम आयोजना गरिनेछ।

सप्ताहभर नेपाल बीमा प्राधिकरण, नेपाल धितोपत्र बोर्ड, सहकारी विभाग, नेसनल बैंकिङ इन्स्टिच्युट लिमिटेड, कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट अलगअलग रुपमा देशका विभिन्न स्थानका युवालक्षित वित्तीय चेतनामुलक कार्यक्रम आयोजना गरिने राष्ट्र बैंकले जनाएको छ।

राष्ट्र बैंकले काठमाण्डौ उपत्यकाभित्र र बाहिरका केही स्कुल तथा क्याम्पसमा युवाहरु केन्द्रित वित्तीय चेतनामूलक कार्यक्रम आयोजना गर्नेछ। यो वर्ष ग्लोबल मनी विकको थिम ‘प्लान योर मनी, प्लान्ट योर फ्युचर’ रहेको छ।