March 13th, 2023

तुलसी बहुमुखी सहकारीमा साढे एक अर्ब हिनामिना, उपाध्यक्ष, सचिवसहित तीन जना पक्राउ

बैंकिङ खबर/ विराटनगरस्थित तुलसी बहुमुखी सहकारीका सञ्चालक र व्यवस्थापकले बचतकर्ताको ठूलो रकम हिनामिना गरेको खुलासा भएको छ । १० हजार भन्दा बढी सर्वसाधारणको करिब एक अर्ब ४९ करोड रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले संस्थाका दुई सञ्चालक र एक व्यवस्थापकलाई ठगी मुद्दा चलाउने तयारी गरेको छ ।

प्रहरीले सहकारीको उपाध्यक्ष अनिता गौतम, सचिव सविना न्यौपाने र क्षेत्रीय प्रबन्धक मन्दीप खवासलाई पक्राउ गरेको छ । सहकारीका अध्यक्ष केदारनाथ शर्मा भने अझै फरार छन् । फरार अध्यक्षको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयमा हालसम्म १२१ जनाले १२ करोड ९ लाख ४ हजार रुपैयाँ ठगी गरेको भन्दै उजुरी गरेका छन् । सहकारीबाट विराटनगर महानगरपालिका भित्र मात्रै ४ हजार जना भन्दा बढी ठगिएका छन् । प्रहरीले बचत फिर्ता नपाएका बचतकर्तालाई उजुरी गर्न आग्रह गरेको छ । नेपालभर कार्यक्षेत्र रहेको सहकारीको मुख्य कार्यालय विराटनगरमा छ । झापाको दमक, उदयपुरको गाइघाट र सिराहाको गोलबजारमा सेवा केन्द्र सञ्चालन गरिरहेको छ । सहकारीमा २१ हजार ७ सय १३ जना सदस्य छन् ।

सहकारीको विराटनगरमा रहेको दुई वटा कार्यालयसहित झापा, उदयपुर र सिराहामा भएको कार्यालय बन्द छन् । फागुन १ गतेबाट सहकारीले सञ्चालन गरेको अन्य व्यवसाय पनि बन्द छन् । संस्थाका अध्यक्ष केदारनाथ शर्मा भारतमा छन् ।