२०७३ कार्तिक ७ गते

‘लगानीको सुरक्षा र बजार व्यवस्थाको खाँचो छ’ : (बैंकर राजेन्द्रप्रसाद पौडेलसँग विशेष बार्ता) 

rajendra-poudel-2राजेन्द्रप्रसाद पौडेल सांग्रिला डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत हुन् । विगत दुई दशकदेखि बैंकिङ क्षेत्रमा सक्रीय उनले २०५१ सालमा सिटी फाइनान्सबाट आफ्नो बैंकिङ करिअर सुरु गरेका उनी सांग्रिलामा आउनुअघि भने बागेश्वरी डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत थिए । सांग्रिला डेभलपमेन्ट बैंक पछिल्लो समयमा मजबुत मात्रै बनेको छैन ग्रामिण भेगमा यसले गरेको लगानी देशकै लागि महत्वपूर्ण मानिन्छ । पुँजी वृद्धिका लागि अन्य बैंकमा बिलय हुने अवस्थाबाट यो बैंक धेरै माथि उठिसकेको छ । यसै सन्दर्भमा बैंकिङ खबर डटकमका सम्पादक माधव निर्दोषले समग्र विकास बैंकहरुको अवस्थासहित सांग्रिला डेभलपमेन्ट बैंकको आगामी कार्ययोजनाबारे सो बैंकको नेतृत्व गरिरहेका प्रमुख कार्यकारी अधिकृत पौडेलसँग गरेको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिन्छ :
 
अहिले विकास बैंकको अवस्था कस्तो छ ?
विकास बैंकहरु मर्जरको कारणले गर्दा घट्दो अवस्थामा छन् । हिजोका दिनमा विकास बैंकहरुको संख्या ८४ को हाराहारीमा थिए भने अहिले ६४ मा सीमित छन् । नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार कुल पूँजी पुर्याउनका लागि अहिले बैंकहरुले मर्जर प्रक्रिया अपनाइरहेका छन् । राष्ट्रिय र क्षेत्रीय स्तरमा रहेर काम गर्ने हाम्रो योजना छ । विकास बैंकले विगतदेखि नै मेचिदेखि महाकालीसम्मकै विभिन्न ग्रामिण क्षेत्रमा आफनो सेवा विस्तार गर्दै आएका छन् । वाणिज्य बैंक र विकास बैंकले पुर्याउने सेवासुबिधा दुरदराजमा फरक–फरक अवस्थामा छन् । नेपालमा विकास बैंकहरुको अवस्था सबल र सक्षम छ भने चुस्त सेवा प्रदान गर्दै आएका छन् ।

राजनीतिक अस्थिरताले बैंकिङ क्षेत्रलाई कस्तो असर पुर्याएको छ ?
अरु देशमा सरकार फेरिँदा राष्ट्रिय योजना तथा वित्तीय रणनीतिहरु परिवर्तन हुँदैनन् । तर हाम्रो देशमा सरकार छिटो–छिटो नै फेरिन्छ । त्यसपछि आउने दलले अघिल्लो सरकारको रणनीति तथा योजनाहरु आफ्नो अनुकुलमा परिणत गरिदिन्छ । दिर्घकालिन सोचका साथ योजनाहरु आउँदैनन् । बैंक तथा वित्तीय संस्था कस्तो हुने भन्ने पुर्वाधारको कुनै निश्चितता छैन । संघीयता अनुसार बैंक तथा वित्तीय संस्था कुन रुपमा रहने हुन्, अझै अन्योल नै छ । अन्ततः सबै कुरा राजनीतिक स्थिरता र दिर्घकालिन सोच, कार्ययोजनामा ठोकिन पुग्छ । सरकारको यस्तो भुमिकाले बैंकमात्र होईन सम्पूर्ण निजी क्षेत्रले दुःख पाएको छ । 

राजनीतिक अस्थीरताले गर्दा लगानीकर्तालाई लगानी गर्ने कि नगर्ने भन्ने अन्योलता भएको हो ?
यो त प्रस्ट रुपमा देखिएको छ । हामीले हेर्न सक्छौँ कि नेपालको सेयर बजार, घरजग्गा किनबेच र सम्पतिको जोह गर्ने परिपाटी, सुन स्टक गर्ने परिपाटी । यदि देशमा सुरक्षा, लगानीका अवसर, स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्ने खालको नीति हुन्थ्यो भने यो अन्योलता हट्ने थियो र विकासको गतिमा अघि बढ्ने थियो ।

उत्पादनमुखी क्षेत्रमा लगानी किन कमजोर भयो जस्तो लाग्छ ? 
हामीले राष्ट्र बैंकको निर्देशन अनुसारनै काम गर्ने हो । र राष्ट्र बैंकको निर्देशनमै रहेर हामी उत्पादन क्षेत्रमा लगानी गरिरहेका छौँ । मुलतः नेपालमा लगानीकर्तामा जोखिम बहन गर्ने क्षमता थोरै छ । तैपनि हामी बैंकिङ क्षेत्रले खोजी–खोजी लगानीका अवसर सिर्जना गरेका छौँ । हाम्रो चाहाना भनेको लगानीको सुरक्षा र बजारको व्यवस्था हो । जुम्लाको स्याउ भैंसीले खाएको छ तर बजारमा अन्य देशको स्याउ आउने गर्छ । पहिलो कुरा हामीसँग भएको स्रोतलाई बजारसम्म पुर्याउन र सदुपयोग गर्न सक्नुपर्छ, तर त्यसो भएको छैन । यो सबै सरकारी नीति, पूर्वाधारको अभाव आदि कारणले भएको हो । तथापि, पछिल्लो समयमा सुधारका संकेतहरु देखा परेका छन् । 

राज्यले पुर्वाधार विकासमा लगानी नगरेको हो ?
मुलत स्रोत साधनको सदुपयोग भएन । वस्तुले बजार पाउन सकेन । उत्पादकले उपयुक्त मुल्य पाएन जसका कारण बिचौलियाहरुको चलखेल बढ्यो । प्रमुख उत्पादक सधैं मारमा पर्ने गर्छ । यो अवस्था पुर्वाधार विकासमा लगानी नभएकै कारण आएको हो ।  

गाउँमा बैंकिङ पहुँच अझै पुग्न सकेको छैन, विकासका कुरा शहर केन्द्रित भईरहेको छ । यसलाई बिकेन्द्रिकरण गर्न के गनुपर्ला ?
नेपालका बैंकहरु केन्द्रिकृत छन् र सकेसम्म बजारकेन्द्रित रुपमै रहेका छन् । तर  हामी यस्तो बैंक हो जो बिकेन्द्रिकरणबाट केन्द्रिकृत भएका हौं । हामी नेपालगञ्ज र पोखरामा खुलेर क्षेत्रीयस्तरमा सञ्जाल बिस्तार गर्दै केन्द्रीय स्थरमा आएका हौँ । तर ग्रामिण तहमा यत्तिले मात्रै विकास हुँदैन । सबै पक्ष लाग्नुपर्छ। त्यसका लागि वित्तिय साक्षरता फैलाउन जरुरी छ । निजी क्षेत्र मात्रै होईन, सरकार नेपाल राष्ट्र बैंक तथा सरोकारवालाले पनि यसको दायित्वबोध गर्नुपर्छ । सरकारले बैंकिङ क्षेत्रसँग हातेमालो गरेर जाने हो भने सम्पूर्ण निकाय, बैंकर एशोसियसन, फाइनान्स कम्पनी एशोसियसन सबै लाग्न तयार छौँ । हामी दुरदराजमा पुगेका छौं, अझै धेरै सेवा विस्तार गर्दैछौँ । हामी जनाताको पैसा चलाउने संस्था भएका कारण यो पैसाको सुरक्षा गर्न सक्ने अबस्था हेरेर हरेक ठाउँमा पुगेका छौँ । तर पनि प्रयाप्त भएको छैन । बैंकिङ क्षेत्र सञ्चार सेवा र यातायात विस्तार भएपछि पुग्ने भएको हुँदा पूर्वाधारको विकास सबैभन्दा महत्वपूर्ण छ । 

सांग्रिला डेभलपमेन्ट बैंकको बारेमा बताईदिनुहोस न ।
हामीले बागेश्वरी डेभलपमेन्ट बैंक नेपालञ्जमा खोल्यौं र सांग्रिला डेभलपमेन्ट बैंक पोखरामा खोल्यौं । यी २ वटा बैंक सुरुमै मर्जरको अवधारणमा खुलिएका हुन् । ०७० सालमा मर्ज भयो । अहिले मर्ज पश्चातको तेस्रो वर्षमा छौँ । हाम्रो ३१ वटा शाखा र ७ वटा माईक्रोफाइनान्स छन् । हाम्रो शाखा सञ्जाल देशैभरि छ । हामीले मर्जर नीतिलाई अँगाल्दै राष्ट्र बैंकले तोकेको पूँजी पुरा गर्ने दायित्वबोध गरेका छौँ । पुँजी पुरा गराउनको लागि हामीले मर्जर, एक्विजिसन, मुनाफाबाट कमाएको बोनस र हकप्रद सेयरलाई अगाडि बढाएका छौँ । ५ करोड ३९ लाख पूँजीबाट सुरु गरेको संस्थाको पुँजी अहिले १ अर्ब ७ करोड रुपैयाँ पुगेको छ । हामीसँग ११ अर्ब रुपैयाँ निक्षेप परिचालन हुँदैछ । लगानी १० अर्ब पुग्दै छ । बैंक काठमाडौंमा आईसकेपछि अझ परीस्कृत गर्दै लगेका छौँ । हामीले मोवाईल बैंकिङ, एसएमएस सेवा दिँदै आएका छौँ । दुर्गम ठाउँमा बिपन्न कर्जा पनि दिएका छौँ । काठमाडौंमा मात्रै हाम्रो ३ वटा शाखा छ ।

सांग्रिला डेभलपमेन्ट बैंकले कसरी पूँजी पुरा गर्छ ?
हाम्रो बैंकको शाखा नभएको ठाउँका अरु बैंकलाई मर्जरका लागि आह्वान गरेका छौं । हामी अरु बैंकमा बिलय हुने अवस्थामा छैनौँ तर अन्य बैंक वा संस्थालाई मर्जरमा ल्याएर पुँजी बढाउने योजनामा छौं । 

अबको योजनाहरु के के छन् ?
पुँजी २ अर्ब ५० करोड पुर्याउनेमा केन्द्रित छौं । हाम्रो योजना मर्जर एक्विजिसनमा क–कसलाई ल्याउने, वित्तीय साक्षरता कुन रुपमा अघि बढाउने, ग्रामिण क्षेत्रमा वित्तीय पहुँच कसरी विस्तार गर्ने भन्नेमै केन्द्रित छ । हामी नेपाल सरकार र नेपाल राष्ट्र बैंकले निर्दिष्ट गरेका कुरालाई दायित्वबोध गरेर अगाडि बढ्ने छौँ । हामी उद्योगको विकास, निर्यातको प्रबद्र्धन, पर्यटन, जलस्रोत, ठूला तथा साना खालका विद्युतको विकासको लागि कसरी अघि बढ्ने भन्ने योजनामा छौँ । लघुवित्तलाई पनि हामीले अघि बढाएका छौं । कृषिमा आधुनिकिरणको खोजी र लगानीका लागि तयारी छौं । समग्र रुपमा बैंक सबल र सुदृढ गराउनुपर्छ भन्नेमा हाम्रो सक्रियता छ ।