बैंकिङ खबर/ पछिल्लो समय लघुवित्त वित्तीय संस्थाविरुद्ध चौतर्फी आक्रमण हुन थालेको छ । राजनीतिक दल होस् वा लघुवित्त संस्थाविरुद्ध खुलेका संगठन अथवा सञ्चारमाध्यम किन नहोस् लघुवित्तविरुद्ध लागेका छन् । यसैबीच लघुवित्तविरुद्ध विभिन्न भ्रमहरु फैलिइरहेका बेला नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बुधबार लघुवित्तकर्मीहरुसँग छलफल गरेका छन् । छलफलका क्रममा गभर्नर अधिकारीले पछिल्लो समय लघुवित्तविरुद्ध सुनियोजित रुपमा भ्रम फैलाइएको बताए । अनेक विषयहरु उठाएर लघुवित्तविरुद्ध भ्रम फैलाउने काम भएको उनको भनाइ छ ।
नेपाल राष्ट्र बैंकले बुधबार लघुवित्त सम्बन्धि सरोकार राख्ने विभिन्न व्यक्ति तथा संस्थालाई बोलाएर चार घण्टा छलफल गरेको हो । छलफलमा गभर्नर अधिकारीले अहिलेको परिस्थितिलाई राष्ट्र बैंकले नजिकबाट नियालिरहेको बताउँदै कर्जा लिनेले तिर्नु पर्ने बताए ।
अधिकारीले लघुवित्तविरुद्धका भ्रमहरुलाई चिर्न आवश्यक रहेको बताए । उनले भने, ‘कर्जा लिएपछि तिर्नुपर्छ, यसमा कुनै छुट हुँदैन, राष्ट्र बैंकले कर्जा लिएपछि तिर्नुपर्छ भनिरहेको छ, अहिले कर्जा नलिने मान्छेले आन्दोलन गरेका छन्, कर्जा लिनेहरुले चुक्ता गरिरहेका छन्, यस विषयमा राष्ट्र बैंक सजग छ ।’
छलफल कार्यक्रममा गभर्नर अधिकारीसहित डेपुटी गभर्नरहरु, कार्यकारी निर्देशकहरु, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरी, सांसदहरु योगेन्द्र मण्डल, लिला श्रेष्ठ, पूर्व मन्त्री गोपाल दहित, लघुवित्त बैंकर्स संघका पदाधिकारी र बैंकर्स संघका पदाधिकारीहरु छलफलमा सहभागी थिए ।