
बैंकिङ खबर/ राष्ट्र बैंकले कर्जाको जोखिम बढ्दै गएपछि व्यक्तिगत कर्जाहरू स्थिर ब्याजदरमा उपलब्ध गराउन पुनः सुझाएको छ । ‘स्थिर ब्याजदरमा कर्जा उपयोग गर्दा कर्जाको ब्याजदर बढ्दैन, ऋणीले निर्धारित अवधिमै कर्जा भुक्तानी गर्न सक्छन्,’ राष्ट्र बैंकले भनेको छ । नेपाल राष्ट्र बैंकले कोभिडको बेलामा ९ प्रतिशत स्थिर ब्याजदरमा कर्जा प्रवाह गर्दा यसले पछिसम्म समस्या नआउने सोचका साथ त्यस्तो व्यवस्था मार्गदर्शन गरेको हो ।
त्यतिबेला ऋणीले ६/७ प्रतिशतमा ब्याजदरमा ऋण पाइराखेकोले स्थिर ब्याजदरको अभ्यास त्यति चलनचल्तीमामा आएन । यदि राष्ट्र बैंकले भनेको जस्तो स्थिर ब्याजदरमा ऋणी कर्जा लिएको भए वा बैंकहरूले पनि सोही अनुरुपमात्रै कर्जा प्रवाह गरेको भए अहिले यो समस्या नआउने राष्ट्र बैंकले बताएको छ ।
स्थिर ब्याजदरले निश्चित आय भएका व्यक्तिको वित्तीय अवस्थामा नकारात्मक असर पर्न दिँदैन, राष्ट्र बैंकले वित्तीय चेतना सम्बन्धी जारी गरेको सूचनामा उल्लेख गरेको छ ।
ब्याज र आम्दानीमा तालमेल नभएमा कर्जा भुक्तानीमा समस्या आउन सक्ने राष्ट्र बैंकले जनाएको छ । ब्याजदर निर्धारण र ब्याजदर परिवर्तन हुने शर्त बुझेरमात्र कर्जा उपयोग गर्न राष्ट्र बैंकले सुझाएको छ ।





