
बैंकिङ खबर/ प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनसहित केही अधिकारीहरुमाथि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले अनुसन्धान थालेको छ ।
शेरचनले आफन्तका नाममा रहेको जानकी मेडिकल कलेजलाई पटक–पटक गरी २ अर्ब रुपैयाँभन्दा बढी कर्जा प्रवाह गरेको, चिरायु अस्पताललाई प्रवाह भएको कर्जा, अन्य केही कृत्रिम ऋणी खडा गरी बैंकबाट करोडौं ऋण दिएको र घाटामा रहेका केही संस्थालाई ऋणमाथि ऋण थुपारेको लगायतका विषयमा अनुसन्धान थालिएको सीआईबी स्रोतले जनाएको छ ।
गत माघ १२ गते ती ऋणीसँग सम्बन्धी सम्पूर्ण कागजात पेस गर्न भन्दै सीआईबीले पत्र काटेको थियो । सोही दिन शेरचनलाई बैंक सञ्चालक समितिले तेस्रो कार्यकालका लागि सीईओमा पुन नियुक्ति गर्यो ।
सीईओ नियुक्तिको एकमात्र एजेण्डामा बसेको बैंक सञ्चालक समितिको बैठक ३ घण्टासम्म चलेको थियो । उक्त बैठकमा केही सञ्चालकहरुले सीआईबीले छानविन गर्ने भनिरहेको अवस्थामा शेरचनलाई सीईओ नियुक्ति गर्न नहुने राय ब्यक्त गरेका थिए ।
तर, सीईओ शेरचनले केही लफडायुक्त कर्जाका फाइलहरु मिलाउनू पर्ने भन्दै ४ वर्षकै लागि सीईओ नियुक्ति गरे पनि ती फाइलहरु सेटल गरेपछि बैंक छाड्ने बताउँदै सीईओमा निरन्तरता दिन आग्रह गरेका थिए ।



