January 30th, 2023

सहकारीकाे बैठक सकिए लगतै सञ्चालकले गरे आत्महत्या

बैंकिङ खबर/ कास्की पोखरा महानगरपालिका–९ शिव टोलमा एक सहकारी सञ्चालकले आत्महत्या गरेका छन् । डल्फिन बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक ३८ वर्षीय लेखुराम खातीले आइतबार साँझ ७ बजेतिर घरमै झुन्डिएर आत्महत्या गरेका हुन् । वडा प्रहरी कार्यालय बैदाम प्रमुख युवराज भण्डारीका अनुसार खाती ह्याप्पी पानी उद्योग सञ्चालकसमेत रहेको खुलेको छ ।

खातीमाथि बचतकर्ताको रकम फिर्ता गर्न नसकेको भन्दै सञ्चालक समिति र सेयर सदस्य दबाब दिएको र ऋणको बोझले आत्महत्या गरेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । उनी आबद्ध सहकारी सञ्चालक समितिको बैठक बसेको थियो । बैठक सकिएपछि खातीले आत्महत्या गरेको जनाइएको छ ।

मृतक खातीको खल्तीमा तिर्नुपर्ने रकम विवरणसहितको चिट समेत भेटिएको प्रहरीले जनाएको छ । खातीले धेरै ऋण रहेको र दुई-तीन दिनअघिसम्म साथीभाइसँग सापटी माग्दै हिँडेको उनका निकटस्थहरूले बताएका छन् । उनका साथी अशोक राईका अनुसार खातीमाथि चर्को ऋण थियो । पछिल्लो समय उनी कार्यरत म्यानेजर डल्फिन बचत तथा ऋण सहकारी संस्था नाजुक हुँदै गएपछि उनी दबाब महसुस गर्न थालेका थिए ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]