Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

बैंकहरूको आधार दर १०.६८ प्रतिशत पुग्यो, कुनको कति ?

२०७९ माघ १५ गते

बैंकिङ खबर/ चालू आर्थिक वर्षको छ महिनामा बैंकको आधार दर (बेस रेट) औसत २.३२ प्रतिशतले बढेको छ । आर्थिक वर्ष २०७८/०७९ को पुस मसान्तको तुलनामा २०७९/०८०को पुस मसान्तसम्म बैंकहरूको आधार दर बढेको हो।

आर्थिक वर्ष २०७८/०७९ को पुस मसान्तसम्ममा औसत ८.३६ प्रतिशत रहेको बैंकहरूको आधार दर आर्थिक वर्ष २०७९/०८० को पुस मसान्तसम्म आउँदा १०.६८ प्रतिशत पुगेको छ । अर्थात् यसले कर्जाको ब्याजदर महँगिएको देखाउँछ । बैंकले दिने कर्जाको ब्याजदर निर्धारण गर्ने प्रमुख आधार नै आधार दर अर्थात् बेस रेट हो।

बेस रेटमा बैंकहरुले प्रिमियम थपेर ब्याजदर तोक्न पाउँछन्। बैंक तथा वित्तीय संस्थाहरुले आफ्ना ग्राहकहरुलाई कर्जा प्रवाह गर्दा कर्जाको ब्याजदर निर्धारण गर्नुपर्छ। कर्जाको ब्याजदर आधार दरमा जोडिएको हुन्छ। आधार दर जहिले पनि तीन–तीन महिनामा घटबढ हुने गर्छ। आधार दर कर्जा प्रवाहको वास्तविक ब्याजदर नभई ब्याजदर निर्धारण गर्ने आधार मात्र हो। यसअघि पनि निजी क्षेत्रका उद्योगी व्यवसायीले कर्जाको ब्याजदर घटाउन माग गर्दै आइरहेका थिए। कर्जाको ब्याजदर घटाउन भन्दै उनीहरुले उपत्यकालगायत देशका केही ठाउँमा प्रदर्शन समेत गरे। 

यता राष्ट्र बैंकले पनि स्प्रेडदर घटाएर ब्याजदर घटाउन ब्याजदर कम गर्न खोजेको छ। बैंकहरुले स्प्रेड दर २०७९ चैतबाट ४.४ लाई घटाएर ४.२ ल्याउनुपर्नेछ। २०८० असारदेखि भने बैंकको स्प्रेडदर ४ प्रतिशतमा ल्याउनुपर्नेछ।  नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसी कर्जा दर बढ्नुलाई सामान्य रुपमा लिनुपर्ने बताउँछन् । उनका अनुसार कोभिड सुरु हुनुअघि ऋणको ब्याज ११ दशमलव ८ प्रतिशत र चालू आवको कात्तिकसम्ममा १२ दशमलव ६ प्रतिशत थियो। आर्थिक वर्ष २०७९/०८० को पुस मसान्तसम्म १० वाणिज्य बैंकको आधार दर ११ प्रतिशतभन्दा माथि छ।

२०७९/०८० को पुस मसान्तसम्म सबैभन्दा धेरै बेस रेट भएको बैंक कुमारी र सिभिल बैंक हो। पुस मसान्तमा दुवै बैंकको आधार दर ११.७३ प्रतिशत पुगेको छ। २०७८/७९ पुस मसान्तसम्म कुमारी बैंकको आधार दर ८.९३ प्रतिशत र सिभिल बैंकको ९.७४ प्रतिशत थियो। गत वर्षको पुसको तुलनामा यतिबेला दुवैको आधार दर उच्च बढेको छ।

२०७९/०८० को पुस मसान्तसम्म नेपाल बैंकको आधार दर ९.९० प्रतिशत रहेको छ। यसैगरी, नबिल बैंकको आधार दर १०.१० प्रतिशत रहेको छ। स्ट्यान्डर्ड चार्टर्ड बैंकको ९.६७ प्रतिशत, नेपाल एसबिआई बैंकको १०.७५ प्रतिशत र एनआइसी एशिया बैंकको आधार दर ११.०२ प्रतिशत छ।

२०७९/०८० को पुुस मसान्तसम्म ९ वटा बैंकको आधार दर १० प्रतिशतभन्दा माथि रहेको छ। सिद्धार्थ बैंकको १०.९१ प्रतिशत, ग्लोबल आईएमई बैंकको १०.८० प्रतिशत, प्राइम कमर्सियल बैंकको ११.३४ प्रतिशत, एनएमबि बैंकको आधार दर १०.६८ प्रतिशत र राष्ट्रिय वाणिज्य बैंकको आधार दर ९.२९ प्रतिशत छ।

त्यसैगरी हिमालयन बैंकको आधार दर १०.८६ प्रतिशत, एभरेष्ट बैंकको आधार दर ९.९७ प्रतिशत र माछापुच्छ«े बैंकको ११.२३ प्रतिशत रहेको छ।  लक्ष्मी बैंकको ११.३७ प्रतिशत, कृषि विकास बैंकको ११.०६ प्रतिशत, सिटिजन्स बैंकको ११.३९ प्रतिशत र सनराइज बैंकको आधार दर ११.६२ प्रतिशत रहेको छ।

आव २०७९/०८० को पुस मसान्तसम्म आउँदा ४ बैंकको आधार दर ९ तल छ। नेपाल बैंक, स्टान्डर्ड चार्टर्ड बैंक,राष्ट्रिय वाणिज्य बैंक र एभरेष्ट बैंकको आधार दर ९ प्रतिशत कम रहेको छ। त्यसैगरी प्रभु बैंकको ११.१४ प्रतिशत, सानिमा बैंकको १०.८६ प्रतिशत, र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको बेसरेट १०.४२ पुगेको छ।

बेस रेट (आधार दर) के हो ?

बैंकले दिने कर्जाको ब्याजदर निर्धारण गर्ने प्रमुख आधार नै आधार दर ( बेस रेट) हो । बेस रेटमा शून्यदेखि ५ प्रतिशतसम्म प्रिमियम थपेर बैंकहरुले ब्याजदर तोक्न पाउँछन् । बैंक तथा वित्तीय संस्थाहरुले आफ्ना ग्राहकहरुलाई कर्जा प्रवाह गर्दा कर्जाको ब्याजदर निर्धारण गर्नु पर्दछ । आधार दर भन्दा बढी कुनै पनि बैंक तथा बित्तीय संस्था ले ब्याजदर लिन पाउंदैनन् ।

कर्जाको ब्याजदर आधार दर (बेस रेट) मा लिङ्क गरेको हुन्छ । आधार दर जहिले पनि तीन/तीन महिनामा घट,बढ हुने गर्दछ । यो अटोमेटिक घटबढ हुने हो । यो तल माथी हुनुमा बैंकहरुको हात हुदैन । आधार दर कर्जा प्रवाहको वास्तविक ब्याजदर नभई ब्याजदर निर्धारण गर्ने आधार मात्र हो ।

सामान्यतया कर्जाको विषयमा बेस रेट प्लस एक प्रतिशत भनिएको हुन्छ । मानौं कुनै बेला ८ प्रतिशत बेस रेट छ भने एक प्रतिशत जोड्दा ब्याज ९ प्रतिशत हुन्छ । बेसरेट घटेर ७ मा आयो भने फेरी एक जोडेर ८ प्रतिशत हुने हुन्छ । त्यसकारण बैंकहरुले निक्षेपमा ब्याजदर घटाउछन् तर कर्जामा चाही घटाउदैनन् भन्ने भ्रम झुठो हो ।

बेसरेट आजको आजै तल माथि हुँदैन । जतिबेला बजारमा तरलताको अभाव हुन्छ त्यो बेला कर्जा र निक्षेप दुबै तर्फ को ब्याज दर बढ्छ । ब्याजदर घट्ने बढ्ने भन्ने विषय निक्षेपमा भर पर्छ । निक्षेप कति सहज हिसावले आउछ यदी ठुलो हिसावले आयो भने कर्जाको ब्याजदर पनि तल आउने हुन्छ ।

बेसरेट गणना गर्ने विषयमा चार वटा कम्पोनेन्टहरु छन् । त्यसमा सबैभन्दा ठुलो कम्पोनेन्ट Cost Of Fund  हो । Cost Of Fund भनेको निक्षेपकर्ताहरुको माझ दिइने ब्याज हो । भोली निक्षेपको अवस्था सहज भयो त्यसको प्रत्यक्ष असर बेस रेटमा पर्छ र बेस रेट तल झर्छ । त्यस्तो हुँदा कर्जाको ब्याजदर पनि स्वतः घट्छ ।

आधार दर गणना गर्ने विधिः

आधार दर गणना गर्दा निम्नानुसारको विधि अपनाउनु पर्छ । आधार दर = कोष लागत प्रतिशत + अनिवार्य मौज्दात लागत प्रतिशत + वैधानिक तरलता लागत प्रतिशत + संचालन लागत प्रतिशत