October 20th, 2016

‘एक घर एक खाता अभियान प्रभावकारी बन्दैछ’

upendra-poudel-3उपेन्द्र पौडेल नेपाल बैंकर्स संघका अध्यक्ष एवम् एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) हुन् । सन् १९८६ मा तत्कालीन ग्रीनलेज (हालको स्टान्डर्ड चार्टड) बैंकदेखि बैंकिङ करियर सुरु गरेका पौडेल सन् २००० देखि अहिलेसम्म एनएमबी बैंकको सीइओको रुपमा कार्यरत छन् । त्यसयता उनको नेतृत्वमा एनएमबी बैंकले बैंकिङ क्षेत्रमा थप फड्को मारिसकेको छ । एनएमबी बैंक वर्तमान परिपृक्षमा एक सक्षम र अब्बल बैंकको रुपमा स्थापित भईसकेको छ । विगतदेखि बैंकिङ क्षेत्रमा कुनै न कुनै नयाँ योजना ल्याउने गरेको एनएमबी बैंकले हालैमात्र महानायक राजेश हमाललाई ब्राण्ड एम्बेसडर तोकेर ‘एक घर एक खाता’ कार्यक्रम सञ्चालनमा ल्याएको छ । सो योजनालाई वित्तीय साक्षरताको एउटा कार्यक्रमको रुपमा पनि हेरिएको छ । बैंकको सोही योजनासहित बैंकिङ क्षेत्रका विभिन्न पक्षबारे बैंकिङ खबर डटकमका सम्पादक माधव निर्दोषले एनएमबी बैंकका सीइओ पौडेलसंग गरेको कुराकानीको सम्पदित अंश यहाँ प्रस्तुत गरिन्छ :
 

यहाँको विचारमा नेपालको बैंकिङ क्षेत्रका विद्यमान चुनौतिहरु के–के हुन् ?  
नेपालको बैङ्किङ क्षेत्रको सञ्चालन तथा विकास केही वर्षयता संक्रमणबाट उत्पन्न समस्याहरुबीच भइरहेको छ । विभिन्न अन्तर्राष्ट्रिय आर्थिक घटना क्रमहरूसमेतले बेला–बेलामा नेपालको बैंकिङ क्षेत्रलाई नकारात्मक असर पारिरहेको छ । यसकारणले यो क्षेत्रमा विभिन्न समस्या, चुनौती तथा केही विकृतिहरू विद्यमान छन् । यसैबीचमा बैंकिङ क्षेत्रको नियमन चुस्त राख्नसमेत अन्तर्राष्ट्रिय स्तरमा विभिन्न अवधारणा प्रादुर्भाव भइरहेका छन् । तर, नेपालको वर्तमान परिस्थिति तथा संरचनात्मक कमजोरीहरूका कारण ती अवधारणाहरू आत्मसात् गर्न कठिनाइ भइरहेको छ । देशको बैङ्किङ प्रणालीका लागि अति आवश्यक, सम्झौता गर्न नसकिने संस्थागत सुशासन कमजोर स्थितिमा छ ।

कुनै पनि संस्थामा सुशासन कमजोर भयो भने त्यो चुस्त हुन सक्दैन । बैंकिङ क्षेत्रमा त झन् संस्थागत सुशासनको अति नै ठूलो महत्व हुन्छ । वर्तमान सन्दर्भमा बैङ्किङ क्षेत्रसँग गाँसिएका गम्भीर पक्षलाई ख्याल नगरी कतिपय बैंकहरू सञ्चालन भएका कारण तथा राजनीतिक अस्थिरताबाट उत्पन्न परिस्थितिले बैङ्कमा कर्जा जोखिम तथा अन्य सञ्चालन जोखिम बढिरहेको छ । यी सबै चुनौतीबीच बैङ्किङ क्षेत्रलाई स्वस्थ्य, प्रतिस्पर्धात्मक तथा प्रुडेन्सियल नम्र्सभित्र रहेर सञ्चालन हुन निकै कठिन भइरहेको मैले महशुस गरिरहेको छु ।

यस क्षेत्रको भविष्य कस्तो छ ?
हरेक देशको नीति निर्माण त्यहाँको राजनीतिक प्रणालीमार्फत हुन्छ । यहाँ पनि त्यस्तै नै हुने हो । त्यसैले बैंकिङ क्षेत्रको भविष्य देशको राजनीतिक स्थिरतामा निर्भर रहन्छ । नियमन प्रभावकारी गराउँदै राजनीतिक स्थिरता कायम भएमा देशको बैंकिङ क्षेत्रको अवस्थालाई क्रमशः सुधार गर्न सकिने अवस्था अझै छ । तर, यसमा सबै स्टेकहोल्डरहरूको उच्च स्तरको संयमता तथा सहयोगको आवश्यक छ । अहिलेको अर्थतन्त्र कमजोर भएको अवस्थामा पनि बैंकिङ क्षेत्र सुदृढ र बलियो बन्दै गईरहेको छ । तर देशको राजनीतिक अवस्थाले स्थायीत्व पाउने हो भने त यो क्षेत्रले अझै धेरै फड्को मार्नेछ ।
 
बैंकहरु नाफामुखिमात्रै भए भन्ने आरोप पनि लाग्ने गरेको छ नि ?
मलाई त त्यस्तो लाग्दैन । नेपाली अर्थतन्त्रमा बैंकिङ क्षेत्रको भूमिका अवमूल्यन गर्न मिल्दैन । स्वभाविक रुपमा बैंकले सेवा क्षेत्रमा लगानी गर्नका लागि नाफा कमाउनुपर्छ । त्यसका लागि नाफा हुने क्षेत्रमा लगानी गर्नुपर्छ । नाफाहीन बैंकले सेवा क्षेत्रमा कसरी लगानी गर्छ ? दुवै पक्षबाट हेर्नुपर्छ । नेपाल राष्ट्र बैंकले जारी गरेका नीति निर्देशनहरु बैंकहरुले पालना गरिरहेका छन् । त्यसैले यस्तो आरोपमा तुक छैन । बैंकर्सले विपन्न वर्गमाथि २ प्रतिशत प्रत्यक्ष लगानी गर्न सक्दैनौँ भनेकोप्रति आलोचना पनि भईरहेको छ नि ? विपन्न वर्गमा पाँच प्रतिशतमध्ये दुई प्रतिशत बैंकहरु आफै सक्रिय भएर लगानी गर्नुपर्ने व्यवस्था एकदमै चुनौतीपूर्ण छ भन्ने हाम्रो भनाई हो । यो व्यवहारिक नभएकै कारणले हामीले असन्तुष्टि जनाएका हौँ । विपन्न वर्गमा काम गर्ने दक्षता लघुवित्त कम्पनीको हो । यसमा वाणिज्य बैंकको दक्षता नभएकाले हामीले चुनौतिपूर्ण भनेका हाँै । तर पनि नियमनकारी निकाय र सरकारले नै भनेपछि हामी सक्दैनौँ भन्न त मिल्दैन । त्यसैले हामी प्रयास गर्छौँ । तर स्पष्ट कुरा के हो भने, लगानीका लागि बैंकको पूर्वाधार, सञ्जाल र आफ्नै क्षमता हेर्दा लगानी असम्भवजस्तै छ ।  

तपाई त एनएमबी बैंकको सीइओ पनि हुनुहुन्छ, हालै तपाईहरु ‘एक घर एक खाता’लाई वित्तीय साक्षरतासंग जोडेर सुरु गर्नुभएको छ यसको खास उद्देश्य के हो ?

‘एक घर एक खाता’ हामीले पहिलेदेखि नै गर्न चाहेको अभियान हो । विभिन्न तथ्यांकहरुले देखाएअनुसार अझै झण्डै ६० प्रतिशत नेपाली बैंकिङ पहुँच बाहिर छन् । त्यसैगरी अझै पनि १९ प्रतिशत नेपाली बैंक, बीमा, लघुवित्त, सहकारीलगायतका वित्तीय पहुँचभन्दा पूर्ण रुपले बाहिर रहेका छन् । यो सब हुनुमा वित्तीय साक्षरताको कमी पनि एउटा मुख्य पाटो हो । त्यसैले पनि वित्तीय साक्षरताप्रति नेपालीलाई अवगत गराउन हामीले ‘एक घर एक खाता’ योजना संचालनमा ल्याएका हौँ । यो योजनाअनुसार हामी बैंकको खाताबाटै आर्थिक कारोवार गरौँ भन्ने सचेतना फैल्याउने छौँ । यदि सबै घरका मानिसहरुको बैंकमा खाता भयो भने वित्तीय साक्षरतासम्बन्धी कार्यक्रमहरु प्रभावकारी हुन सक्छन् । हामीजस्तै अरुले पनि यस्ता खालका कार्यक्रम अघि बढाउने हो भने ग्रामिण गाउँमा वित्तीय साक्षरताका कार्यक्रमहरु प्रभावकारी हुन सक्छन् भन्ने हाम्रो बुझाई हो ।  

झण्डै ६० प्रतिशत नेपाली बैंकिङ पहुँचभन्दा बाहिर छन् भनिरहँदा तपाईहरुको एउटा बैंकले मात्र यस्तो अभियान चलाउँदा यसको प्रभावकारीता कस्तो रहला ?
हामीले हाम्रो बैंकको प्रभाव क्षेत्रमा यो कार्यक्रम संचालन गरिरहेका हुन्छौँ । यो त हामीबाट भएको सुरुवाती काममात्र हो । यो कसरी अघि बढ्छ र कुन तरिकाले सफल हुन्छ भन्ने कुरा विस्तारै थाहा हुँदै जाला । तर यस्तै कार्यक्रम लिएर विस्तारै अरु पनि आउनेछन् भन्नेमा म विश्वस्त छु । सरकारी तहबाटै पनि वित्तीय साक्षरतासम्बन्धी नीति आएको छ । त्यसैले सबै कुरा एकैपटक भईहाल्छ भन्नु भन्दा पनि विस्तारै प्रभावकारी ढंगबाट हुन्छ भन्ने अपेक्षा गर्न सकिन्छ ।
 
यो अभियानपूर्व कतिको तयारी गर्नुभयो ? र यो अभियानलाई कुन–कुन ठाउँमा परीचालन गर्नुभएको छ ?
यो अभियान सुरुवात भएको ४/५ महिना भयो । त्यसअघिदेखि नै हाम्रो तयारी तिब्र थियो । तर औपचारीक तथा क्रमबद्ध रुपले हालैमात्र सञ्चालन भएको हो । अहिले हामीले बैंकहरु मर्जर भएको ठाउँमा यो अभियान कार्यान्वयन गरिरहेका छौँ । अहिले हामी पश्चिम क्षेत्रमा गएका छौँ । अब लगतै पूर्वी नेपालतिर पनि जाँदैछौँ । हामीले घरदैलो अभियानलाई पनि अघि बढाएका छौँ । त्यसका लागि हामीले नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमाललाई ब्राण्ड एम्बेसडरका रुपमा चयन पनि गरिसकेका छौँ । यो कार्यक्रम अहिले जारी छ ।

अभियानको प्रभावकारीता कस्तो छ ? र कहिलेसम्म सञ्चालन गर्ने योजना छ ?    
हामीले पहिलेदेखि एक घर एक खाता भन्ने योजना सामान्य ढंगले सञ्चालनमा ल्याएका थियौँ जसले हामीलाई धेरै सजिलो बनाएको छ । हामीले यससम्बन्धी विभिन्न ‘क्याम्पेनिङ’ तथा ‘म्यासेज’ दिराखेका छौँ । त्यसैले प्रभावकारीता राम्रो नै छ । यो अभियान सञ्चालनको लागि निश्चित समय हामी तोक्दैनाँै । यो अभियान हाम्रो बैंक र राष्ट्रकै योजनामा साथ दिने खालको भएकाले चलाईरहन्छौँ  ।

तपाईहरुले अहिले संचालन गरिरहनुभएको अभियान राष्ट्रको योजनाअनुकुल छ भन्नुभयो । तपाई त बैंकर्स संघको अध्यक्ष पनि हुनुहुन्छ, अरु बैंकलाई पनि यो अभियानमा सहभागी गराउन तपाईले कस्तो भूमिका निर्वाह गर्नुहुन्छ ?
यो अभियान हामीले कसैको दबाबमा सुरु गरेका होइनौँ । यो हाम्रो स्वविवेकले संचालित अभियान हो । यद्यपी यस अभियानले मुलुकमा व्याप्त वित्तीय साक्षरताको संकटलाई केही सम्बोधन गर्ने हाम्रो अपेक्षा छ । हाम्रो बैंकका ग्राहक बढ्नेमात्र योजना हुन्थ्यो भने यसबारे धेरैको ध्यान जाँदैन थियो । तर यो अभियान त ग्रामिण क्षेत्रका नेपालीहरुलाई बैंकिङ पहुँचमा ल्याउन भूमिकापूर्ण अभियानका रुपमा रहेको धेरैले महशुस गरिसकेका छन् । अन्य बैंकले पनि विभिन्न तरिकाले वित्तीय साक्षरताका लागि भूमिका नखेलेका होइनन् । यही अभियानमा सरिक हुनुपर्छ भन्ने पनि होइन तर राष्ट्रको योजनामा टेवा पुग्ने गरी कुनै न कुनै भूमिका खेल्नुपर्छ र खेलिरहेका छन् ।

नेपालको बैंकहरुमध्ये एनएमबी बैङ्कको स्थान कहाँ छ ?
नेपालको वित्तीय संरचनामा एनएमबि बैंक अब्बल स्थानमै छ । यो सुरुको अवस्था देखिनै उत्कृष्ट अवस्थामा रहेको बैंक हो । यस बैंकले स्थापनाकालदेखि नै बैंकिङ प्रणालीमा आफ्नो दरिलो उपस्थित जनाएको छ । कुनै न कुनै नयाँ सेवा आम सेवाग्राहीलाई प्रदान गर्दै आएको छ । हालै हामीले संचालन गरेको एक घर एक खाता पूरा राष्ट्रकै हीतमा छ । बैङ्कको तरलता, पूँजी पर्याप्तता, खर्च/आम्दानी रेसीयो, खराब कर्जा प्रतिशत आदिका प्रमुख सूचकांकहरू मुलुकको बैङ्किङ क्षेत्रमा अति नै उत्कृष्ट स्थानमा राख्न बैंक सफल भएको छ । बैङ्कको कर्जा गुणस्तर पनि राम्रो छ ।

एनएमबी बैंकको व्यावसायिक रणनीतिबारे केही भनिदिनुहुन्छ ?  
एनएमबी बैंकले सन् २००८ मा पाँच वर्षे रणनीति जारी गरेको थियो भने त्यसको पाँच वर्षपछि रणनीतिको समीक्षा गर्दा राम्रो प्रगति भएको निष्कर्ष निकालियो । अहिले पनि ‘एनएमबी २०२० रणनीति’ लिएर अगाडि बढेको छ । यो रणनीतिमा २०२० सम्ममा हरेक कुनामा एनएमबी बैंकको उपस्थिति पुर्याउने उद्देश्य राखेका छौँ । मर्जरको अवधारणा पनि त्यही रणनीतिका आधारमा ल्याइएको हो । बैंकले २०२० सम्ममा लिएको लक्ष्य पूरा गर्न शाखारहित बैंकिङ सेवा, मोबाइल बैंकिङ जस्ता नयाँ प्रविधिबाट सेवा दिँदै जाने योजना छ ।