March 4th, 2016

मर्जरबाट कटौती हुने अवस्थामा विकास बैँकहरु

mergerनेपाल राष्ट्र बैँकले मौद्रिक नीतिमा बैँकहरुको पुँजी वृद्धि गर्नुपर्ने व्यवस्था गरेसँगै बैँकहरु मर्जर प्रक्रियाबाट पुँजी वृद्धि गर्न लागिपरेका छन् । बैक वित्तिय संस्थाहरुले २०७४ असार मसान्तसम्म चुक्ता पुँजी वृद्धि गरी वाणिज्य बैंकहरुले आठ अर्ब, राष्ट्रिय स्तरका विकास बैंकहरुले दुई अर्ब पचास करोड, चारदेखि दशजिल्ला कार्य क्षेत्र भएका विकास बैंकहरुले एक अर्ब बीस करोड, एकदेखि तीन जिल्ला कार्यक्षेत्र भएका विकास बैंकहरुले पचास करोड तथा राष्ट्रिय स्तरका र चारदेखि दश जिल्ला कार्यक्षेत्र भएका वित्त कम्पनीहरुले असी करोड एवम् एकदेखि तीन जिल्ला कार्यक्षेत्र भएका वित्त कम्पनीहरुले चालिस करोड पु¥याउनुपर्ने व्यवस्था गरिएको छ । यसै व्यवस्था अनुरुप, बैँक तथा वित्तीय संस्थाहरुले मर्जरलाई पूँजीवृद्धिको उपाय बनाएका छन् । आगामी वैशाखसम्ममा ३३ वटा बैंक तथा फाइनान्स कम्पनी मर्ज भएर १३ वटा बन्ने भएका छन् । मर्जरको लागि राष्ट्र बैंकले दिएको सैद्धान्तिक अनुमति र मर्जरको लागि सम्बन्धित बैंक तथा फाइनान्स कम्पनीहरुले गरेको सम्झौता समेतको आधारमा झण्डै तीन दर्जनको हाराहारीमा कम्पनीहरु ‘मर्जर’मा जान लागेका हुन् । पुँजी वृद्धिका लागि १६ वटा विकास बैँकहरु मर्जरको सैद्धान्तिक प्रकृया पुरा गरिसकेका छन् । जसमध्ये १० वटा राष्ट्रिय स्तरका र ६ वटा क्षेत्रिय स्तरका विकास बैँकहरु छन् । यसका अलावा, मर्जरमा जानको लागि औपचारिक रुपमा सम्झौता गरिसकेका कम्पनीहरुमा ११ वटा वाणिज्य बैंक र छ वटा फाइनान्स कम्पनीहरु समेत रहेका छन् । ‘मर्जर’मार्फत बन्ने १३ वटा नयाँ संस्थाहरुमा भने सातवटा वाणिज्य बैंक, चारवटा राष्ट्रिय स्तरका विकास बैंक र दुईवटा राष्ट्रिय स्तरका फाइनान्स कम्पनीहरु रहनेछन् । 

कुन विकास बैँक कुनमा गाभिँदै ?
राष्ट्रियस्तरका वित्तीय कारोबार गर्दै आएको सिद्धार्थ डेभलपमेन्ट बैंकले क्षेत्रीयस्तरको एकता विकास बैंक र नेपाल आवास फाइनान्स कम्पनीलाई गाभेर सिद्धार्थ डेभलपमेन्ट बैंककै नाममा एकीकृत कारोबार गर्ने तयारी गरेको छ । मर्जरपश्चात् सिद्धार्थ डेभलपमेन्टको चुक्ता पुँजी एक अर्ब १४ करोड ४४ लाख ९० हजार कुल निक्षेप १० अर्ब सात करोड र कर्जा आठ अर्ब ५५ करोड रुपैयाँ पुुग्नेछ । सोसाइटी डेभलपमेन्ट बैंक पनि भिबोर डेभलपमेन्ट बैंकसँग गाभिएर भिबोरकै नाउँमा एकीकृत कारोबार गर्ने अन्तिम तयारीमा रहेको छ । एकीकृत कारोबारपश्चात् भिबोरको चुक्ता पुँजी एक अर्ब ८१ करोड ५० लाख रुपैयाँ पुुग्नेछ । गत असोज मसान्तसम्मको वित्तीय विवरणअनुसार ‘मर्जर’पश्चात् कुल निक्षेप ११ अर्ब रुपैयाँ तथा कुल कर्जा नौ अर्ब रुपैयाँ कायम हुनेछ । काठमाडौं फाइनान्स र समस्याग्रस्त घोषणा भएको गोर्खा डेभलपमेन्ट बैंकले पनि मर्जरको प्रक्रिया सुरु गरिसकेका छन् । मर्जरको लागि गोर्खाले राष्ट्र बैंकको निर्देशनमा आफ्नो झण्डै ६४ करोड रुपैयाँको चुक्ता पुँजीलाई १९ करोड रुपैयाँको चुक्ता पुँजी स्वाप रेसियो कायम गरिसकेको छ । यसैगरी बैंक अफ काठमाडौँ र लुम्बिनीले पनि मर्जर प्रक्रिया सुरु गरिसकेका छन् । दुवैले मर्जरपश्चात् पनि बैंक अफ काठमाडौँ कै नाममा वित्तीय कारोबार गर्ने गरी सम्झौता गरिसकेका छन् । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी र एभरेष्ट फाइनान्सले पनि श्री इन्भेष्टमेन्टकै नाममा एकीकृत कारोबार सुरु गर्ने गरी सम्झौता गरिसकेका छन् । श्री इन्भेष्टमेन्टको हालको चुक्ता पुँजी २२ करोड तथा एभरेष्टको चुक्ता पुँजी १३ करोड ७५ लाख रुपैयाँ रहेको छ । ‘मर्जर’पश्चात् बन्ने एकीकृत फाइनान्सको चुक्ता पुँजी झण्डै ३६ करोड रुपैयाँ पुुग्नेछ । कैलाश विकास बैंक, मेट्रो डेभलपमेन्ट बैंक र नेपाल एक्सप्रेस फाइनान्सले पनि आगामी वैशाखदेखि नै कैलाश विकास बैंकको नाउँमा एकीकृत कारोबार गर्ने तयारी गरेका छन् । तीनवटै संस्था चैत मसान्तभित्र गाभिएर वैशाखबाट एकीकृत कारोबार गर्ने योजनामा छन् । २०७२ असारको वित्तीय विवरणअनुसार तीनवटै संस्था गाभिएपछि पुँजी दुई अर्ब नाघ्नेछ । निक्षेप १२ अर्ब ३० करोड, कर्जा १० अर्ब ७७ करोड र शाखा ३८ पुग्नेछ । 

सिद्धार्थ बैंक र बिजनेस युनिभर्सल डेभलपमेन्ट बैंकको मर्जर प्रक्रिया सुरु भइसकेको छ । मर्जरपश्चात् सिद्धार्थ डेभलपमेन्ट बैंककै नाउँमा एकीकृत कारोबार गर्ने तयारी रहेको बैंकको चुक्ता पुँजी तीन अर्ब ५८ करोड रुपैयाँको हाराहारीमा पुुग्नेछ । यता नेपाल क्रेडिट एण्ड कमर्स बैंकसँग पनि कुमारी बैंकसहित इन्टरनेशनल डेभलपमेन्ट बैंक, एपेक्स डेभलपमेन्ट बैंक, इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंक र सुप्रिम बैंक मर्ज हुन लागेका छन् । ‘मर्जर’पश्चात् कुमारी बैंककै नाउँमा एकीकृत कारोबारको तयारीमा रहेको बैंकको चुक्ता पुँजी झण्डै छ अर्ब रुपैयाँको हाराहारीमा पुुग्नेछ । ज्योति विकास बैंकले पनि क्षेत्रीयस्तरको हाम्रो विकास बैंक र झिमरुक विकास बैंकलाई गाभ्ने प्रक्रिया सुरु गरिसकेको छ । मर्जरपश्चात् ज्योतिकै नाउँबाट एकीकृत कारोबार गर्ने बैंकको चुक्ता पुँजी एक अर्ब ११ करोड रुपैयाँको हाराहारीमा पुुग्नेछ । यसबाहेक सिभिल बैंकले इन्टरनेशनल लिजिङ एण्ड फाइनान्स कम्पनीलाई गाभ्ने तयारी गरेको छ भने मेगा बैंकले पश्चिमाञ्चल डेभलपमेन्ट बैंकलाई गाभ्ने तयारी गरिरहेको छ । प्रभु बैंकले भने ग्राण्ड बैँकलाई गाभेर माघ मसान्तबाट नै एकीकृत कारोबार सुरु गरिसकेको छ ।