Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

राष्ट्रिय सहकारी बैंकका सदस्यको खातामा १५ प्रतिशत लाभांश जम्मा

२०७९ पुष २० गते

बैंकिङ खबर/ राष्ट्रिय सहकारी बैंकले आर्थिक वर्ष २०७८/०७९ को नाफाबाट सेयर सदस्य सहकारी संघसंस्थाहरुलाई १५ प्रतिशत लाभांश वितरण गरेको छ । बैंकको १९ औं वार्षिक साधारणसभा सकिएकै दिन बैंकले गत आर्थिक वर्षको लाभांश १५ हजार ४७४ सदस्य सहकारी संघ–संस्थाको खातामा पठाएको जनाएको छ ।

साधारण सभाले १५ प्रतिशत लाभाशं दिने निर्णय पारित गरे लगत्तै सदस्यको खातामा रकम पठाएको बैंकका अध्यक्ष के.बी. उप्रेतीले बताए । बैंकले गत आर्थिक वर्ष ०७८/०७९ मा ४३ करोड ४५ लाख ५७ हजार ७४८ रुपैया लाभांश वितरण गरेको छ । सहकारी बैंकले विगत ५ वर्ष देखि लगातार १५ प्रतिशत लाभांश प्रदान गर्दै आएको छ । बैंकले वितरण गरेको यो लाभांशमा संरक्षित पुँजी फिर्ता कोषबाट प्राप्त गर्ने रकम समाबेश नगरीएको बैंकले जनाएको छ ।

बैंकले छिट्टै नै सदस्यहरुलाई संरक्षित पुँजी फिर्ता कोषको रकम पनि सदस्यको खातामा पठाउने तयारी गरेको छ । बैंकले लाभांश बाहेक कारोबारका आधारमा संरक्षित पुँजी फिर्ता कोषबाट पनि सदस्य सहकारीहरुलाई रकम उपलब्ध गराउँदै आएको छ । संरक्षित पुँजी फिर्ता कोषको रकम कारोबारको आधारमा दिइने र उक्त रकम केही समयपछि प्रदान गरिने बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) बद्रीकुमार गुरागाईंले बताए ।